राष्ट्रिय सभा अध्यक्ष काङ्ग्रेसलाई,इलामको सांसद झलनाथलाई ?
पूर्वमन्त्री तथा नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । काँग्रेस जिल्ला कार्यसमिति झापाले हिजो उनको नाम सर्वसम्मत सिफारिस गरेको हो । उनी गत आमनिर्वाचनमा झापा–३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए।
राष्ट्रपतिबाट मनोनित एक जनासहित राष्ट्रियसभाका २० सांसदको पदावधि फागुन ११ गते सकिँदैछ । त्यसको एक महिनाअघि रिक्त पदपूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आगामी माघ ११ गते निर्वाचनको मिति तोकिएको छ ।
निर्वाचनमा सत्तारुढ गठबन्धनका दलहरुले तालमेल गरेर जाने निर्णय गरिसकेका छन् । काँग्रेस,माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन हुँदा निर्वाचन हुने १९ वटै सिट जित्ने प्रष्ट अवस्था छ । कोशी प्रदेशबाट निर्वाचित भएको अवस्थामा सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने काँग्रेसको तयारी देखिन्छ ।
सिटौलाको उम्मेदवारी सिफारिस राष्ट्रिय सभा अध्यक्षको निम्ति भएको अन्य दलहरुले पनि प्रष्ट बुझेका छन् । संवैधानिक परिषद्मा प्रतिनिधित्व गर्ने पदहरुमा आफ्ना कोही पनि नरहेको काँग्रेसको दाबी रहँदै आएको छ । प्रधानमन्त्री माओवादी केन्द्रको,सभामुख र राष्ट्रिय सभा अध्यक्ष एमालेको,उपसभामुख रास्वपाको भएकाले उसले त्यसमा टेक्दै आफ्नो धारणा सार्वजनिक गरेको हो ।
अर्कोतर्फ काँग्रेस जस्तै गठबन्धनमा आवद्ध नेकपा एकीकृत समाजवादीको पनि संवैधानिक परिषदमा प्रतिनिधित्व छैन । भलै काँग्रेसबाट राष्ट्रपति र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति छन् । तर,ती पदका अधिकारीहरुले संवैधानिक परिषदमा प्रतिनिधित्व गर्दैनन् ।
गत वर्षको राष्ट्रपति चुनावताका गठबन्धन दलहरुबीच राष्ट्रिय सभा अध्यक्ष आफ्नो पार्टीलाई दिने सहमति भएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यसअघि बैठकमा बताउनुभएको थियो ।
सत्ता गठबन्धनबीच उक्त सहमति भएको अरु नेताहरुको पनि भनाई छ।तर,नेता सिटौलाको व्यवस्थापन गर्ने नाममा काँग्रेसले सबैलाई मनाउने निश्चित छ । सिटौलाका कारण समाजवादीका घनेन्द्र बस्नेतलाई यस पटक पनि अवसर प्राप्त नहुने अवस्था सिर्जना भएको छ । अघिल्ला चुनावमा टिकट नपाएको सन्दर्भमा बस्नेत राष्ट्रिय सभाको चुनावमा उम्मेदवार हुने निश्चित थियो । तर, सिटौला कोशी प्रदेशबाट उठ्ने भएपछि बस्नेतको सम्भावना क्षीण भएको हो ।
उता, एकीकृत समाजवादीका सम्मानित नेताले इलाममा रिक्त प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को आगामी उपनिर्वाचनमा उम्मेदवार हुने चाहना राख्नुभएको छ । एमाले सांसद तथा पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि सो क्षेत्रको सांसद पद रिक्त छ ।
गठबन्धन दलहरुले एकीकृत समाजवादीलाई राष्ट्रिय सभा अध्यक्ष नदिएको अवस्थामा उसको उम्मेदवारलाई इलामको उपनिर्वाचनमा सघाउनुपर्ने आवाज उठ्न थालेको छ । त्यसो हुँदा सम्मानित नेता झलनाथ नै उम्मेदवार हुने अवस्था पनि उत्तिकै बलियो रहेको बताइन्छ ।
टिप्पणीहरू