पत्रकार सम्मेलनमा बृध्दले ओलीसँग खीर मागेपछि

पत्रकार सम्मेलनमा बृध्दले ओलीसँग खीर मागेपछि
सुन्नुहोस्

नेकपा एमालेले १८ दिन लामो मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्राबारे जानकारी दिन हिजो पत्रकार सम्मेलन आयोजना गरेको थियो । यात्राका अनुभव र त्यसले दिएको सन्देशबारे आमनागरिकलाई जानकारी गराउन भनी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट बोलाइएको विशेष पत्रकार सम्मेलनका लागि सञ्चारकर्मीहरु च्यासल पुगेका थिए । 

सम्मेलनमा एमालेका शीर्ष नेता,कार्यकर्ता र सुरक्षाकर्मीहरुको पनि बाक्लै उपस्थिति थियो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले यात्राका अनुभूतिहरु शेयर गर्नुभयो । यात्राको महत्व र सन्देशबारे व्याख्या गर्दै पछिल्लो समय जनतामा आइरहेको नैराश्यता चिर्न सफल भएको भनाई राख्नुभयो । 

सञ्चारकर्मीहरुले आफ्ना जिज्ञासा राखे । ओलीले जवाफ दिनुभयो । पत्रकार सम्मेलन सकियो । त्यसपछि शुरु भयो खाजा समय । एमालेले उपस्थित पत्रकारहरुलाई त्यहीँ खाजाको व्यवस्था गरेको थियो । 

'तपाईंको कार्यालय सचिव प्लेट र कप बोकेर बाँडिरहेका छन् । तपाईं पनि डाडु लिएर खिर बाँड्न आउने होला नि हैन !'

खिर,बोडीको तरकारी र अचार थियो,खाजामा । लाइनमा उभिएकाहरुलाई केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले प्लेट, चम्चा र कप दिइरहेका थिए । त्यत्तिकैमा अध्यक्ष ओली पनि त्यतै आइपुग्नुभयो । 

लाइनमा उभिएका एकजना झोला बोकेका उमेरले अलि पाको देखिने व्यक्तिले ओलीतिर हेर्दै भने, 'तपाईंको कार्यालय सचिव प्लेट र कप बोकेर बाँडिरहेका छन् । तपाईं पनि डाडु लिएर खिर बाँड्न आउने होला नि हैन !' उनको कुरा सुनेर निकैबेर हाँसोको फोहोरा छुट्यो।

ओलीले भने केही जवाफ दिनुभएन । त्यहाँ खटिएका सुरक्षाकर्मीहरुले हातको इशाराले 'चुप लाग्न' भनेपछि हाँसो शान्त भयो । पछि खाजा खाने बेला प्रहरीहरु समेत त्यही कुरा सम्झेर मुर्च्छा पर्दै हाँसिरहेका थिए।

टिप्पणीहरू