माओलाई सम्झंदै प्रधानमन्त्रीले भन्नुभयो - कम्युनिस्ट आन्दोलनको मुख्य चुनौती विचारको विकास

माओलाई सम्झंदै प्रधानमन्त्रीले भन्नुभयो - कम्युनिस्ट आन्दोलनको मुख्य चुनौती विचारको विकास
सुन्नुहोस्

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचारको विकास नै वर्तमान कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौती रहेको बताउनुभएको छ ।

आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित १३१ औँ ‘माओ दिवस’का सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उहाँले मार्क्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन भएकाले विकसित परिस्थितिको जगमा विचारको विकास गर्नुपर्ने आवश्यकता औल्याउनुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘'आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति माओको जीवनकालको जस्तो छैन । माओपछि विश्व परिस्थितिमा निकै ठूलो फेरबदल आएको छ । सबैभन्दा ठूलो परिवर्तन आइटी क्षेत्रमा आएको छ । साम्राज्यवादले नयाँ नयाँ रणनीति र कार्यनीतिसहित आफूलाई टिकाइरहेको छ । हामी मार्क्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई जसरी रूपान्तरण गर्नुपर्थ्यो, त्यो गर्न सकिरहेका छैनौँ । आजको मुख्य चुनौती यही हो ।’

माओको स्मरण गर्नुको अर्थ विचार र क्रान्तिलाई मौलिक ढंगले सोच्नु पनि हो भन्दै उहाँले मार्क्सवादको सिर्जनात्मक विकास गर्नेपर्नेमा जोड दिनुभयो । माओले समेत त्यसैगरी विचारको विकास गरेको दृष्टान्त सुनाउँदै प्रधानमन्त्रीले अगाडि भन्नुभयो, 'हामीले सिक्ने त्यहीँनेर हो । हामी कुनै यान्त्रिकता वा अन्धानुकरणमा जानु हुँदैन । 

माओवादी केन्द्रको आठौँ महाधिवेशनले संश्लेषण गरेको कार्यदिशा पनि त्यहि भएको उहाँको भनाई छ ।

प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिको बाटोबाटै समाजवादको आधार तयार हुनुेमा पुन; जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘'हामी सामाजिक न्याय, सुशासन र समृद्धिलाई उच्च प्राथमिकता दिएका छौँ, यसको अर्थ समाजवादको आधार तयार पार्नु हो । त्यसकै आधारमा हामी अगाडि बढ्छौँ ।’

पार्टीले चार महिनाका लागि सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान समापनलगत्तै अर्को अभियानको सुरूवात गरिने उहाँले बताउनुभयो । प्रचण्डले भन्नुभयो, ‘'चार महिने अभियान पुस १६ गते समापन हुँदैछ । त्यसपछि हामी विचारको छलफल र अन्तरक्रियामा जनतामा नै जान्छौँ । त्यसका लागि विचार केन्द्रित अर्को अभियान सुरू गर्छौं ।’

टिप्पणीहरू