प्रधानमन्त्रीको प्रश्न : यो तथ्याङ्क के हो ?

प्रधानमन्त्रीको प्रश्न : यो तथ्याङ्क के हो ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा अघि बढेको दाबी गर्नुभएको छ । 

आफू नेतृत्वको सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले ऊर्जा क्षेत्रमा भएको क्रान्तिले लोकतन्त्रको भविष्यलाई थप उज्यालो बनाएको टिप्पणी गर्नुभएको हो । आफू दोस्रोपटक प्रधानमन्त्री हुनु अघिसम्म देशमा १८ घण्टासम्मको लोडसेडिङलाई नियति मानिएको उल्लेख गर्दै उहाँले अहिले लगभग सिङ्गो देशमा विद्युतको पहुँच पुगेको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘वर्षायाममा पनि विद्युत् आयात गर्नुपर्ने अवस्थाबाट आज देश विद्युत् निर्यात गर्ने ठाउँमा पुगेको छ । विगत एक वर्षमा ७०० मेगावाटसम्म विद्युत् निर्यात गरी १५ अर्ब २७ करोड बराबरको विदेशी मुद्रा आर्जन गरिएको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.२८ प्रतिशतले बढी हो । पाँच वर्षअघि यो अवस्थाको धेरैबाट कल्पना पनि गरिएको थिएन ।’

सम्बोधनको प्रारम्भमै विद्युतमा भएको विकासबारे आफ्ना भनाई राख्नुभएका प्रधानमन्त्रीले केही तथ्याङ्कसमेत प्रस्तुत गर्नुभयो । विक्रम संवत् १९६८ मा फर्पिङ जलविद्युतबाट ५०० किलोवाट विद्युत उत्पादनबाट सुरु भएको विद्युतीकरण यात्रामा त्यसपछिका १०४ वर्षमा जम्मा ८०० मेगावाटमात्र उत्पादन क्षमता पुगेको उल्लेख गर्दै उहाँले विगत ७ वर्षभित्र उत्पादन क्षमता बढेर २८ सय ९२ मेगावाट पुगेको जानकारी दिनुभयो । जसमध्ये करिव ५४१ मेगावाट यही एक वर्षमा थप भएको उहाँको भनाई छ । 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘विगतका हिसाबले यो एक वर्ष करिब ८० वर्ष बराबर हो । तर, मैले यसमा सन्तोष मानेको छैन । मेरो विश्लेषणमा हामीसँग यस क्षेत्रमा भएको सम्भावनाको तुलनामा यो उपलब्धि निकै सानो हो । यसै वर्ष भएको मेरो भारत भ्रमणका क्रममा दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्यका साथ दीर्घकालीन जलविद्युत् सम्झौताको प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको छ ।’

जलविद्युत क्षेत्रमा भएको यो प्रगतिले देशमा केही हुँदैन भन्ने नकारात्मक सोचको खण्डन गर्ने प्रधानमन्त्रीको बुझाई छ । 

प्रधानमन्त्रीको सम्बोधन जारी छ ।

टिप्पणीहरू