उता मोदी बलियो हुँदा, यता ओली निराश !
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १४ गते बिहान साढे ८ बजे बैतडीको झुलाघाटमा नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेर थाल्नुभएको ‘झुलाघाट–चिवाभञ्ज्याङ्ग समृद्धिका लागि सङ्कल्प यात्रा’ पुस १ गते दिउँसो १२: १५ बजे समापन भयो । कमजोर स्वास्थ्य र पाको उमेरको बाबजुद अध्यक्ष ओलीले ३० जिल्ला हुँदै दुई हजार किलोमिटरभन्दा लामो यात्रा गर्नुभयो ।
उक्त यात्रालाई एमालेले ऐतिहासिक,अभूतपूर्व र अत्यन्त उपलब्धीपूर्ण भनेको छ । १ करोड २० लाखभन्दा बढीको बसोबास रहेको सो भेगको सामाजिक,आर्थिक रुपान्तरण र समृद्धिको नयाँ सङ्कल्प फर्किएको उसको दाबी छ । जनताको उत्साहपूर्ण सहभागितामा भएको यात्रालगत्तै आयोजित सचिवालय बैठकमा अध्यक्ष ओलीले आशाभन्दा निराशाजनक कुरा गर्नुभएको बताइन्छ ।
पुस ४ गतेको सचिवालय बैठकमा भूराजनीतिक कारण देखाउँदै एमालेले अझै योभन्दा कठिन संकटको सामना गर्नुपर्ने ब्रिफिङ गरिएको छ । छिमेकी भारतमा आगामी २०२४ को निर्वाचनमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी अहिलेको भन्दा बढी शक्तिका साथ सत्तामा आउने र त्यसले आफूलाई झनै चुनौती थपिने एमाले अध्यक्षको निश्कर्ष छ ।
एक पदाधिकारीका अनुसार अध्यक्षले भारतमा विपक्षी दलका सांसदमाथि गरिएको कारबाही,भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको अभिव्यक्तिलगायत प्रसङ्ग उठाएर चिन्ता व्यक्त गर्नुभएको हो । अध्यक्षको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘यी घटनाक्रम हेर्दा हाम्रो लागि अझै कठिन समय आउने छ ।’
गत मंसिर २ गते भारतमा विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई ‘पटक–पटक संसदको कार्यवाही अवरुद्ध गरेको’ भन्दै निलम्बन गरिएको छ । भारतीय संसदको तल्लो सदन लोकसभाका ३३ र माथिल्लो सदन राज्यसभाका ४५ जना सांसदलाई गरिएको उक्त निलम्बनलाई भारतको संसदीय इतिहासमा सांसदहरूको सबैभन्दा ठूलो निलम्बन भनिएको छ । योसँगै निलम्बित हुने सांसदको संख्या १४१ पुगेको छ ।
यही प्रसङ्ग निकाल्दै ओलीले भारतमा मोदीको शासन निरंकुश बन्दै गएको र त्यसले नेपालमा समेत असर गर्ने बताउनुभएको हो । मोदीले यसअघि चुनावको पूर्वसन्ध्यामा नेपालले आफ्नो दाबी गर्दै आएको दार्चुलाको कालापानी–लिम्पियाधुरा क्षेत्रमा औपचारिक भ्रमण गरेका थिए । नेपालले दाबी गर्दै आएको क्षेत्रमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे भारतले नेपाललाई औपचारिक जानकारी गराएको थिएन ।
स्रोतका अनुसार एमालेले नेपाललाई सन्देश र चेतावनी दिने गरी उक्त भ्रमण गरेको बुझेको छ । यसैगरी भारतका पूर्व स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले उच्चस्तरीय सुरक्षा बैठकमा ‘छिमेकीलाई साइज राख्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यो अभिव्यक्ति गम्भीर रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले बैठकमा चिन्ता व्यक्त गर्नुभएको थियो ।
स्रोतकाअनुसार भारतले नेकपा एमालेलाई सत्तामा फर्किन नदिने निचोडका साथ एमालेले मिसन २०८४ केन्द्रित अभियान चलाएको हो । भारतले २०८४ को निर्वाचनमा पनि एमालेबिरुद्ध गठबन्धन बनाउने एमालेको आकलन छ ।
टिप्पणीहरू