समाजवादी मोर्चाको बैठकपछि विप्लवको आक्रोश - दोहोरो चरित्र चल्दैन, साँझ कुरा गरिन्छ
माओवादी केन्द्रसँग एकताको तरखरमा रहेको भनिएका नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव प्रचण्ड नेतृत्वको सरकारप्रति असन्तुष्ट देखिएका छन् ।
आज बिहान बालुवाटारमा सम्पन्न समाजवादी मोर्चाको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकारले दोहोरो चरित्र देखाएको आरोप लगाए । आफू र नेकपाका नेताविरुद्ध अदालतबाट जारी भएको पक्राउ पूर्जीको प्रंसगमा विप्लव सरकारप्रति आक्रमक सुनिएका हुन् ।
उनले भने, 'सरकारले सहमति पनि गर्ने, घेराबन्दी पनि गर्ने चित्रहरू देखिएका छन्, तर यो चल्दैन ।’
समाजवादी मोर्चाकै एउटा घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारप्रति अर्को घटक नेकपाका महासचिवको असन्तुष्टी बाहिरिएको हो । मोर्चामा सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्र, सत्तारुढ समाजवादी र जसपासँगै विप्लव नेतृत्वको नेकपा सामेल छन् ।
आजको बैठक ठोस कुन विषयमा केन्द्रित रह्यो भन्नेबारे विप्लवले खुलाउन चाहेनन् । अर्को बैठक आजै साँझ बस्ने बताइएको छ ।
टिप्पणीहरू