केन्द्रीय कमिटीमा खनालको तर्क - ७० वर्षे उमेर हद राख्दैमा नेतृत्व पुस्तान्तरण हुँदैन
पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीमा उमेर हदको व्यवस्था गर्दैमा नेतृत्व पुस्तान्तरण नहुने तर्क अघि सार्नुभएको छ ।
आजबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्दै उहाँ ७० वर्षे उमेर हदको विपक्षमा खुल्नुभएको हो । अहिलेको अवस्थामा ७० वर्षे उमेर हदसम्बन्धी व्यवस्था सान्दर्भिक नभएको नेता खनालको भनाई छ ।
बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘हामीले ७० वर्षे उमेर हद त राख्यौँ तर त्योभन्दा तलतिरको युत नेता जन्माउन सकेनौँ । त्यो दु:खद कुरा हो ।'
खनालले थप्दै अघि भन्नुभयो, त्यो उमेर हद राखेर मात्रै हुन्छ कि हुँदैन ? युवाहरूलाई माथि ल्याउन आवश्यक छ । अब यो उमेरहदको कुरामा सान्दर्भिक देखिँदैन । लागू पनि नगरेकाले यसको सन्दर्भ नै हराइसक्यो ।’
एकीकृत समाजवादीको मौजुदा विधानमा पार्टीको कार्यकारी जिम्मेवारीमा रहन ७० वर्ष नकटेको हुनुपर्ने व्यवस्था छ । एमालेबाट फुट्दा नै उमेर हदसम्बन्धी सो व्यवस्था यथावत रहेको थियो ।
तर, भावी नेतृत्वमा आकांक्षा राखेका खनाल र पुन: अध्यक्ष बन्ने तयारीमा रहेका माधव नेपाललाई लक्षित गरेर विधानको सो व्यवस्था हटाउन लागिएको चर्चा छ ।
टिप्पणीहरू