रोजगारी मापनका लागि ‘जबमिटर’ को व्यवस्था गर्दै सरकार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोजगारी मापनका लागि ‘जबमिटर’ को व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई निर्देशन दिनुभएको छ ।
आज दिउँसो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको मन्त्रालयगत छलफलमा उहाँले जबमिटर व्यवस्था गर्न विशेष योजना तयारीमा जुट्न मन्त्री रिजाललाई प्रस्ट निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीले स्टार्टअप फण्ड परिचालन गरि नयाँ सोच र जोश भएका कम्तिमा २० हजार युवालाई उद्यमशीलतामा जोड्न आवश्यक कार्यकम बनाउन पनि भन्नुभएको छ ।
छलफलपछि निर्देशन दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘नवप्रवर्तनशील सोच र जोश भएका नवयुवाहरूमा उद्यमशीलता प्रवद्र्धन गर्न विजनेस इन्कवेसन सेन्टरको माध्यमबाट सातै प्रदेश केन्द्रित व्यवसाय प्रवद्र्धन अभियान सञ्चालन गर्ने तयारी गर्नुहोला । स्टार्टअप फण्डको समेत परिचालन गरी वर्षेनी कम्तिमा २० हजार युवाहरूको नवीनतम सोचलाई वस्तु र सेवा उत्पादनमा जोड्ने तथा स्वरोजगारी, स्टार्टअप र विभिन्न व्यवसायले सिर्जना गर्ने रोजगारी मापनका लागि ‘जबमिटर’ को व्यवस्था गर्न विशेष योजना तयार गर्नुहोला ।’
प्रधानमन्त्रीले कुटनीतिक निकायलाई उद्योग तथा वाणिज्य प्रवद्र्धनमा केन्द्रित गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक योजना, संयन्त्र र कार्यक्रम बनाएर अगाडि बढ्नसमेत निर्देशन दिनुभयो ।
बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रिजालले उद्योग तथा वाणिज्य प्रवद्र्धनका लागि विनियोजित रकम थोरै हुँदा निर्धारित कार्यक्रम सञ्चालन गर्न बाधा पुगेको बताउँदै त्यसका लागि सरकारकै तर्फबाट एकीकृत समाधान खोजिनुपर्ने बताउनुभयो ।
टिप्पणीहरू