मुद्दा किनारा नलाग्दै बालकृष्ण खाँणलाई सानेपामा स्वागत

मुद्दा किनारा नलाग्दै बालकृष्ण खाँणलाई सानेपामा स्वागत

पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण पार्टी कार्यालय, सानेपा पुगेका छन् ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा सात महिना थुनामा बसेर हालै धरौटीमा रिहा भएका उनी केन्द्रीय समिति बैठकमा सहभागी हुन आज पार्टी कार्यालय गएका हुन् । हिजोदेखि जारी केन्द्रीय समिति बैठकको पहिलो दिन भने उनी सहभागी भएका थिएनन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा नीतिगत भ्रष्टाचार गरेको आरोप लागेका खाँण गत वर्ष वैशाख २७ गते पक्राउ परेका थिए । यहि प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई एमालेले सचिव पदबाट निलम्बन गरे पनि कांग्रेसले भने उनको जिम्मेवारी यथावत राखेको थियो । 

महामन्त्री गगन थापा खेमाले मुद्दाको किनारा नलागेसम्म खाँणलाई पार्टीको जिम्मेवारीबाट अलग राख्नुपर्ने माग गरे पनि सभापति शेरबहादुर देउवाका विश्वासपात्र उनलाई निलम्बन गरिएको थिएन । साउन २ र असोज ४ मा कांग्रेस केन्द्रीय समिति बैठक बस्दा उनी केन्द्रीय कारगार सुन्धारमा थिए ।

उच्च अदालत पाटनको आदेशले ४५ लाख धरौटी (अदालतमा ३० र सम्पत्ति शुद्धीकरणमा १५ लाख) तिरेर मंसिर २९ गते खाँण थुनामुक्त भएका हुन् । उच्चको आदेशविरुद्ध पुनरावेदन गर्न सरकारी वकिलको सर्वोच्च अदालत जाने तयारी छ ।

टिप्पणीहरू