बालकुमारी घटनामा गृहमन्त्रीले औंल्याएका तीन कमजोरी
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुइजना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनामा मुख्यत: तीनवटा कारण औल्याउँनुभएको छ ।
आज बसेको संसदको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले इपिएस कार्यालयको लापरबाही, आन्दोलन भइरहेकै ठाउँबाट मन्त्रीको गाडी लैजाने पिएसओको निर्णय र फिल्डमा खटिएका सुरक्षाकर्मीको कमजोरीले घटना घटेको बताउनुभएको हो । गृहमन्त्री श्रेष्ठले मन्त्री ज्वालाको गाडी घेराबन्दीमा परेको रिपोर्टिङ भएपछि प्रहरीले गोली चलाएको पनि समितिलाई जानकारी गराउनुभयो ।
आन्दोलन भइरहेकै ठाउँबाट मन्त्रीको गाडी लैजान खोज्नु पिसओको गम्भीर त्रुटि भएको उल्लेख गर्दै उहाँले त्यसपछि प्रहरीले गोली चलाएको जानकारी आफूले पाएको बताउनुभयो । मन्त्री ज्वालाको गाडि त्यही बाटो नगएको भए स्थिति यस्तो नबन्ने गृहमन्त्रीको दावी छ ।
त्यस्तै, उहाँले ईपीएस कार्यालयका तर्फबाट पनि कमजोरी भएको बताउनुभयो । जुनसुकै अबस्थामा पनि गोली नचाउनु भनेर निर्देशन दिइएकोमा फिल्डमा खटिएका सुरक्षाकर्मीले गोली चलाएर त्रुटि गरेको पनि गृहमन्त्री श्रेष्ठले समितिलाई जवाफ दिनुभयो ।
यसअघि सांसदहरुले आन्दोलनमा गोली चलाउनुपर्ने अवस्था किन बन्यो भनी गृहमन्त्रीसँग जवाफ मागेका थिए । प्रमुख प्रतिपक्ष एमालेका सांसद राजेन्द्र राईले गृहमन्त्री श्रेष्ठले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका थिए ।
टिप्पणीहरू