भारतीय विदेशमन्त्रीको शीतल निवासबाट भेटघाट
भारतीय विदेशमन्त्री डा. एस जयशंकर एकछिनमा नेपाल आउँदै छन् । उनी २६ घण्टा काठमाडौंमा रहँदा विभिन्न भेटघाट र बैठकमा सहभागी हुने कार्यक्रम तय भएको छ ।
बिहान पौने १० बजे भारतीय वायुसेनाको विमानमा आउन लागेका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै भेटघाटमा सरिक हुने जनाइएको छ । विदेशमन्त्री जयशंकर नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा भाग लिन काठमाडौं आउन लागेका हुन् ।
भोलि दिउँसो पौने १ बजे काठमाडौंबाट बैंगलोर प्रस्थान गर्नुअघि एक दर्जन भेटघाट र बैठकमा सहभागी हुँदैछन् । ११ बजे शीतल निवासमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग र १२ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने बताइएको छ ।
बालुवाटारबाट भारतीय विदेशमन्त्रीको टोली दरबारमार्गस्थित होटल याक एण्ड यति पुग्ने छ । होटलमा परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेपछि सवा १ बजे दुई मुलुकबीच आयोजित संयुक्त आयोगको बैठकमा सहभागी हुने छन् । सोही क्रममा विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यसूची छ ।
बैठकपछि विदेशमन्त्री नेतृत्वको टोलीको सम्मानमा याक एण्ड यतिमा दिवा भोजको कार्यक्रम राखिएको छ । बेलुकी सोल्टी होटलमा रात्रिभोज आयोजना गरिँदै छ ।
त्यसअघि विदेशमन्त्री जयशंकरले दिउँसो ४ बजेको समयमा नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग र पौने ५ बजे एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।
भारतीय विदेशमन्त्रीको टोली भोलि बिहान पशुपतिनाथ मन्दिरमा पूजापाठ गर्न जाने छ । त्यसपछि भारतीय दूतावासको पहलमा भएको पुस्तकालय र अन्य भौतिक निर्माणको उद्घाटन गरेपछि एस जयशंकर पौने १ बजे भारतीय वायुसेनाको विमानमा स्वदेश फर्कने छन् ।
टिप्पणीहरू