क्रान्तिको स्वरूप बदिएको हो, सकिएको छैन - प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरिएको बताउनुभएको छ ।
आज दिउँसो रामेछापको बेथान पानीघाटमा आयोजित 'बेथान वीरता दिवस' कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । प्रधानमन्त्रीले अहिले पनि आफू र आफ्नो पार्टी क्रान्तिमै रहेको समेत उल्लेख गर्नुभयो ।
हामी अहिले पनि क्रान्तिमै छौं । क्रान्ति सकिएको छैन, तर क्रान्तिको स्वरूप फेरिएको छ । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'हामी समाजवादको लक्ष्यमा छौं । त्यसका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेका छौं । यो क्रान्तिको शान्तिपूर्ण मोर्चा हो ।'
त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले जनयुद्धलाई देशको मुक्ति र परिवर्तनका निम्ति महान् विद्रोहको संज्ञासमेत दिनुभयो । 'त्यतिबेला हामीसँग ठूलो शक्ति थिएन, तर महान् विचार थियो, ऐतिहासिक लक्ष्य थियो । त्यसका आधारमा नेपालको क्रान्तिले गुणात्मक उचाइ प्राप्त गर्यो । त्यसले नै देशमा महान् परिवर्तन सम्भव भएको हो', उहाँको भनाई छ ।
वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको बताउंदै प्रधानमन्त्रीले अझै धेरै राम्रा काम गर्दै जाने पनि बताउनुभयो ।
कार्यक्रममा बेथानका शहीद तीर्थ गौतम, फत्तबहादुर स्माली मगर र दिलमाया बम्जनका परिवारजनलाई सम्मानका साथै शहीद स्मारकको उद्घाटन गरिएको थियो ।
टिप्पणीहरू