सत्र प्लस दुईको हिसाब खोज्ने तोशिमा कार्कीलाई गीतैबाट जवाफ

सत्र प्लस दुईको हिसाब खोज्ने तोशिमा कार्कीलाई गीतैबाट जवाफ
सुन्नुहोस्

माओवादी जनयुध्दका क्रममा मारिएका नागरिकको सडकबाट हिसाब खोजेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीलाई एक जना गायकले गीतमार्फत जवाफ फर्काएका छन् । 

जनवादी गायक झंकर बुढाले 'ए तोशिमा,आजभोलि छैनौ कि होशैमा' बोलको एउटा गीतमार्फत जवाफ दिएका हुन् । गत शुक्रबार बालकुमारी घटनामा दुई जनाले ज्यान गुमाएपछि कार्कीले '१७००० प्लस २' लेखिएको पोष्टकार्ड प्रदर्शन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको विरोध गरेकी थिइन् । 

गायक बुढाले भने रास्वपा र सांसद कार्कीको विरोध शैली 'आफूलाई फरक र अलग देखाउन' गरिएको राजनैतिक स्टन्टमात्र भएको बताएका छन् । कार्कीलाई कटाक्ष गर्दै उनले ल्याएको गीत यस्तो छ ।  

ए तोशिमा, 
आजभोलि छैनौ कि होशैमा 

सत्र हजार गनेर,

हाम्रा होइन झैँ ठानेर, 
किन गर्छौ शहीदको अपमान ।

सत्र हजारले रगत नदेको भा
तिमी बोल्न पाउँथ्यौ र
तिमी संसदमा आउँथ्यौ र,
सत्र हजारले जीवन नदेको भा
गणतन्त्र आउँथ्यो र 
सबैले बोल्न पाउँथ्यो र,

ए तोशिमा, 
आजभोलि छैनौ कि होशैमा

गीतमा सांरगीसहित प्रस्तुत भएका गायक बुढाले सांसद कार्कीलाई आफ्नो नामको पछाडि 'कार्की' को सट्टा 'सार्की' लेखेर देखाउन पनि चुनौती दिएका छन् । अन्त्यमा उनले भनेका छन्, 'स्टन्ट देखाउन दलितको घरमा गएर पानी खाएको तस्वीर खिच्दैमा राजनीति हुँदैन । सक्नुहुन्छ भने आफ्नो नामको पछाडि कार्की हैन,अब सार्की नै लेखेर देखाउनुस् । अनि वास्तविक मुध्दामा प्रवेश गर्नुस् ।' 

गायक बुढाले अबको राजनीतिमा नयाँ युवाहरुको आवश्यकता भए पनि सांसद कार्कीजस्ता पुँजीवादी सोचबाट ग्रसित भएका युवाहरुबाट कुनै अपेक्षा गर्न नसकिने पनि उल्लेख गरेका छन् । उनले पुरानो कथन सम्झिदै भनेका छन्, 'तोशीमाजी,गाउँघरतिर एउटा उखान छ । समुन्द्रमै आगो लाग्यो भने, आगो केले निभाउने ? डाक्टर आफै बौलायो भने कसले उपचार गर्ने ? तपाईं त आफै डाक्टर जस्तो मान्छे, यसरी कुतर्क गर्दै हिँड्दा समाज कसरी बन्छ ?' 

त्यसो त,गायक बुढाले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि 'आफ्नो आङको भैँसी नदेख्ने,अरुको आङको जुम्रा देख्ने' भन्दै कटाक्ष गरेका छन् । उनले सांसद कार्कीमार्फत रविलाई पहिला आफ्नो पार्टीको आङ सफा राख्न अनुरोध गरेका छन् । उनले भने, 'शुरु शुरुमा नयाँ पार्टीसँग खुबै आशा लाग्न थालेको थियो । तर आशा गर्नु मेरो अज्ञानता रहेछ । पार्टीको नेतृत्व गर्ने नै दशथरी रङको लुगा फेरेर हिँड्दो रहेछ । अरु त झन् के भनौँ । जस्तो मुली,उस्तै सुली ।'  

उनले राजनीतिमा धैर्यता गर्न पनि रवि र तोसिमालाई सुझाएका छन् । भन्छन्, 'कार्कीजी,तपाईहरु डाक्टर बन्न जति कडा मेहनत गर्नु भएको छ, राजनीति त्योभन्दा जटिल प्रक्रिया हो । भुइँफुट्टा तरिकाले एकैछिन आएर,एकैछिन सबै बुझेजस्तो गरेर राजनीति हुँदैन । त्यसैले मेरो सुझाव छ कि राजनीतिलाई गहिरोसँग अध्ययन गर्नुस् । समाजलाई राम्रोसँग बुझ्नुस अनि बल्ल राजनीति गर्नुस् ।'

टिप्पणीहरू