सँधै थक थक लाग्ने दुई घटना
हालसम्म जीवनमा घटेका दुईवटा घटना सम्झँदा थकथकी लाग्ने गर्दछ । पहिलो घटना थियो जनमोर्चाले पहिलो पटक संसदीय निर्वाचनमा भाग लिँदा सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ मा अग्नी सापकोटाले व्यहोर्न परेको हार । जुन हरेक हिसाबले हामीले त्यो चुनाव जित्नुपर्ने थियो । चुनाव प्रचार प्रसारको अभियानमा हामी धेरै व्यवस्थित ढंगले प्रस्तुत भएका थियौं ।
सम्पूर्ण आवश्यक सामाग्रीहरुसहित ठूलो संख्यामा हामी टोल टोलमा पुग्यौं । ठूला कार्यक्रमहरु गर्यौं । सांस्कृतिक कार्यक्रम त झनै प्रभावकारी थियो । जसरी हिसाब गरेपनि हामी नै पहिलो देखिन्थ्यौं । चौतारामा भएको अन्तिम जनसभाले झन् प्रमाणित गरेको थियो तर निर्वाचनको परिणाममा सबैभन्दा पछाडि पर्यौं । विश्वास गर्न पनि गाह्रो भयो । उक्त चुनावमा अन्ति समयमा शिक्षक पदबाट राजीनामा दिएर उम्मेदवार हुने कृष्णराज श्रेष्ठ विजयी हुनुभयो ।
हामीले चुनावको तयारी भेलामा सिन्धुपाल्चोकको तीन वटै क्षेत्रमा उम्मेदवारी दिनुपर्ने निर्णय गरेका थियौं । क्षेत्र नम्बर १ र २ बाट अग्नी सापकोटाले नै उम्मेदवारी दिने, पछि तालमेलको वातावरण बन्यो भने १ नम्बरबाट उम्मेदवार फिर्ता लिने कुरा थियो । ३ नम्बर क्षेत्रमा भने कसलाई उठाउने भन्ने निर्णय भैसकेको थिएन ।
हामीले केन्द्रबाट तीन वटा टिकट लिन ध्रुब पराजुली (सन्तोष) जी लाई काठमाडौं पठाएका थियौं । तीन वटा नभए दुई वटा टिकट चाँही जसरी भएपनि ल्याउन पर्छ भनेका थियौं । तर केन्द्रीय अध्यक्ष डा. बाबुराम भट्टराईले हामी पूरै चुनावमा भाग लिने होइन, उपयोग मात्रै गर्ने हुँदा २ नम्बर क्षेत्रबाट मात्रै उम्मेदवारी दिनु भन्ने निर्देशनसहित एउटा मात्र टिकट दिनु भएछ ।
ने.क.पा एमालेसँंग वार्ता गर्ने टोलीमा अग्नी सापकोटा, नारायण तिमल्सिना (काका) र म पांग्रेटार पुगेर अमृत बोहोरा, सुरेश नेपालसँगै छलफल गर्यौं । १ नम्बरमा एमालेलाई सहयोग गर्ने र २ नम्बरमा जनमोर्चालाई सहयोग गर्ने कुरामा सहमति भयो । तर २ नम्बर क्षेत्रमा पार्टी संगठन सक्रिय गर्नलाई मात्रै भएपनि उम्मेदवार दर्ता गर्ने तर पछि फिर्ता गर्ने भन्ने थियो । सोही अनुरुप उम्मेदवारी दर्ता भयो ।
चौतारामा भएको एउटा कार्यक्रममा केन्द्रीय टोलीमा खटिएका यानप्रसाद गौतमले भाषणमा अहिलेको प्रमुख शत्रु भनेको एमाले नै हो । यो घाँसमा बस्ने हरियो सर्प हो । अरु पार्टी काँग्रेस, राप्रपाहरुसँग जुध्न गाह्रो छैन भनेर तथानाम गाली गरे । उम्मेदवारी फिर्ता लिने समयसम्म एमालेले पहिलाको समझदारी मान्नैपर्छ भन्ने आधारहरु भएनन् । यदी १ नम्बर क्षेत्रमा पनि हाम्रो उम्मेदवारी भएको भए अर्कै अवस्था हुन्थ्यो ।
अमृत कुमार बोहरालाई जसरी भएपनि जिताउनुपर्ने एमालेको रणनीति थियो । हामीले कुरा नमिलेपछि आफ्नो उम्मेदवार नभएकाले नेमकिपालाई सहयोग गर्ने घोषणा मात्रै गरेनौं बरु हाम्रो पकड भएको गाउँहरुमा कार्यक्रमहरु समेत गर्यौं । २ नम्बरमा मात्र ध्यान दिएर पुग्ने ठाउँमा १ नम्बरमा गएर अर्को पार्टीको उम्मेदवारलाई भोट माग्नुपर्ने बाध्यता भयो ।
निर्वाचन परिणाममा १ नम्बर क्षेत्रमा मोहनबहादुर बस्नेतले १ हजारभन्दा कम मतले अमृत बोहरासँग हार व्यहोर्नुपर्यो । नेमकिपाका उम्मेदवारले हजार हाराहारीमा भोट ल्याएका थिए । त्यहाँ हाम्रो उम्मेदवारी भएको भए हाम्रो मत जति संरक्षण गर्न सकेको भए एमालेले जित्ने कुनै सम्भावना नै थिएन । त्यही आधारमा पनि २ नंम्बर क्षेत्रबाट एमालेले उम्मेदवारी फिर्ता लिन बाध्य हुन्थ्यो वा आफ्नो शीर्ष नेताको हार व्यहोर्नुपर्ने थियो ।
यदी २ नम्बरमा एमालेको उम्मेदवारी नभएको भए हामीले जित्ने पक्का थियो । अग्नी सापकोटाले जित्नु भएको भए जनमोर्चाको संसदीय दलको नेता हुने कुरामा दुईमत थिएन । त्यसपछिका चुनावमा पनि त्यही अनुसार सफलता हासिल हुन्थ्यो । एउटा टिकट ल्याउन नसकेकोले ठूलो नोक्सानी भएको मेरो ठम्याई हो । यसले जहिले पनि घोचिरहन्छ ।
दोस्रो घटना, मैले त्रिभुवन विश्वविद्यालयको राजनितीशास्त्र संकायअन्तर्गत एमएमा अन्तर्राष्ट्रिय सम्बन्ध बिषयमा स्वर्ण पदक नपाउनु । म बेलायत आउने भिसा पाइसकेपछि अन्तिम पटक कीर्तिपुर जानु पर्यो भनेर गएको थिएँ । त्यहाँ दीक्षान्त समारोह रहेछ । जुन मलाई थाहा थिएन । परीक्षा दिएपछि कलेज गएको त्यो नै पहिलो पटक थियो ।
त्रिविको राजनितीशास्त्र संकायअन्र्तगत सबै विषयमा पहिलो हुने विद्यार्थी र अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा पहिलो हुने व्यक्तिको नाम एउटै देखेँ । उनले अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा प्राप्त गरेको ७० नम्बर बराबर मैले पनि प्राप्त गरेको थिएँ । सो विषयमा मैले भोलिपल्टै उक्त संकायमा गएर किन एउटै व्यक्तिलाई दुईवटा पदक दिएको एउटा त मलाई दिएको भए पनि हुन्थ्यो भन्न पुगेँ ।
प्रोफेसरहरु पनि मुखामुख गर्न थाले । ए हो नी किन त्यस्तो भएछ ? भनेर बुझ्न थाले । म त्यही कुरेर बसेँ । पछि थाहा भयो पूरा विषयमा दोस्रो श्रेणी मात्रै आएको रहेछ । पहिलो श्रेणी नल्याएकोले एउटा विषयमा ७० प्रतिशत ल्याए पनि मलाई स्वर्ण पदक दिन नमिलेको रहेछ भने पछि म नराम्ररी चुकचुकाए । हुन त मैले एम.ए अध्ययन गर्दा नियमित भर्ना भएतापनि क्याम्पस गएको थिइन् । परीक्षा दिन मात्र गएको थिएँ । ब्याक नलागी पास भएकैमा खुशी थिएँ तर अलिकति मिहेनत गरेको भए स्वर्ण पदक नै पाउने रहेछु नी भनेर सधैं थकथक लागी रह्यो । अहिले पनि यदाकदा यो घटना सम्झेर अप्ठ्यारो महशुस हुन्छ ।
(लामो समयदेखि बेलायतमा बस्दै आएका जनआस्था साप्ताहिकका नियमित स्तम्भकार सुरेन्द्र नेपाल श्रेष्ठको २०७६ साउनमा प्रकाशित आत्मकथा ‘मेरो आधा शताब्दी’ को एक अंश)
टिप्पणीहरू