राष्ट्रिय सभा चुनावका लागि अन्तिम मतदाता नामावाली सार्वजनिक हुँदै
आगामी माग ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशित हुँदैछ ।
शुक्रबार प्रकाशित नामावलीमा कुनै मतदाताको नाम समावेश हुन छुटेको भए समावेश गर्न, विवरण सच्याउनु पर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिने व्यवस्था थियो । ती सबै प्रक्रिया सकेर आज अन्तिम मतदाता नामावली प्रकाशित गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार निर्वाचनका लागि २ हजार ४७ जना मतदाता छन् । यसअघि स्वीकृत मतदाताको नामावली पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा सार्वजनिक भएको थियो ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । निर्वाचनमा कूल मतभार ५७ हजार ५५९ रहेको छ । प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ ।
यसअनुसार प्रदेश सभा सदस्यको कूल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख /उपप्रमुखको कूल मतभार २८ हजार ४६२ हुनेछ। कुल जनसंख्यालाई मतदाता संख्याले भाग गरि त्यसमा आउने योगफललाई पुन: हजारले भाग गरेर मतभार निकालिन्छ ।
राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् ।
टिप्पणीहरू