वैदेशिक रोजगारीमा जानेलाई सरकारले सस्तो ब्याजमा ऋण दिने

वैदेशिक रोजगारीमा जानेलाई सरकारले सस्तो ब्याजमा ऋण दिने
सुन्नुहोस्

वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सरकारले सस्तो ब्याजमा ऋण उपलब्ध गराउने भएको छ । 

विदेश जानका लागि पैसा लिँदा युवाहरु मिटरब्याजी र बिचौलियाहरुबाट ठगिने गरेको गुनासो बढिरहँदा आज श्रम मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यस्तो अवस्थाको अन्त्य गर्न सरकारले नै ऋण दिनुपर्ने बताउनुभएको हो । सो सम्बन्धी सबै व्यवस्था मिलाउन उहाँले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरदसिंह भण्डारीलाई निर्देशनसमेत दिनुभएको छ ।

 
त्यस्तै प्रधानमन्त्रीले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई अधिकतम् लाभ हुने परियोजनामा लगानी गर्ने व्यवस्था मिलाउन पनि मन्त्रीलाई भन्नुभएको छ । श्रमिकलाई उद्यमशील बनाउने र वैदेशिक रोजगारबाट फर्किनेहरूको ज्ञान सीप र पुँजीको पूर्ण उपयोग हुने क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउनेतर्फ तत्काल परिणाम देखिने गरी काम गर्न पनि उहाँले जोड दिनुभएको छ ।

प्रधानमन्त्रीले सामाजिक सुरक्षा कोषमा औपचारिक, अनौपचारिक र वैदेशिक रोजगारीमा गएका र स्वरोजगारमा रहेका श्रमिकलाई आवद्धता र विस्तारलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न पनि मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

त्यस्तै, वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पूर्वप्रस्थान अभिमुखीकरण तालिम निःशुल्क उपलब्ध गराउन पनि प्रधानमन्त्रीले श्रम मन्त्रीलाई भन्नुभएको छ ।

टिप्पणीहरू