एकीकृत समाजवादीका प्रदेश सचिवद्वारा पार्टी परित्याग

एकीकृत समाजवादीका प्रदेश सचिवद्वारा पार्टी परित्याग

नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेशका सचिव राजु गुरुङले पार्टी परित्याग गरेका छन् । पार्टीको जिम्मेवारी निर्वाह गर्न नसक्ने भन्दै उनले आज पद छोडेको घोषणा गरेका हुन् । 

आज अध्यक्ष माधव कुमार नेपाललाई सम्बोधन गरी गुरुङले लेखेको राजीनामा पत्रमा पार्टीको सदस्यतासमेत त्यागेको उल्लेख छ । ‘म नेकपा (एकीकृत समाजवादी) पार्टीको सदस्यता र पार्टीले मलाई सुम्पेको केन्द्रीय कमिटी सदस्य र लुम्बिनी प्रदेश समितिको सचिवको जिम्मेवारी निर्वाह गर्न असमर्थ भएको हुँदा यो राजीनामा पेश गरेको छु । तसर्थ, मेरो राजीनामा स्वीकृत गरी सहयोग गरिदिनुहुन अनुरोध छ’, राजीनामा पत्रमा भनिएको छ । 

युवा नेता गुरुङ रुपन्देहीमा प्रभावशाली नेताका रुपमा चिनिन्छन् । उनी गत प्रतिनिधिसभामा रुपन्देही –२ मा सत्ता गठबन्धका साझा उम्मेदवार थिए । तर, पछि बैंकिङ्ग कसुरको अभियोगमा उनको उम्मेदवारी खारेज भएको थियो ।
 

टिप्पणीहरू