नागरिक उन्मुक्तिको नेतृत्वका लागि रेशम चौधरीको उम्मेदवारी

नागरिक उन्मुक्तिको नेतृत्वका लागि रेशम चौधरीको उम्मेदवारी
सुन्नुहोस्

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । 

कैलालीको टिकापुरमा हिजोदेखि जारी महाधिवेशनका क्रममा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन कार्यक्रममा चौधरीको अध्यक्षमा उम्मेदवारी परेको हो । अहिलेसम्म अध्यक्षमा उनको मात्रै उम्मेदवारी दर्ता भएको बताइएको छ । 

सर्वसम्मतिको प्रयास जारी राखेर निर्वाचन कार्यक्रम अघि बढाएको नाउपाका एक नेताले बताएका छन् । तोकिएको भन्दा बढी उम्मेदवारी परेका पदमा आज दिउँसो मतदान गर्ने कार्यतालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ ।

महाधिवेशनले अध्यक्षसहित एक सहअध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, सात सचिव, सोही संख्यामा सहसचिव र एकजना कोषाध्यक्ष गरी ३३ सदस्यीय पदाधिकारी चयन गर्ने छ । 

टीकापुर हत्याकाण्डमा जेल परेका रेशम चौधरीले डिल्लीबजार कारागारबाटै गठन गरेको नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए । गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएर थुनामुक्त भएपछि उनी अहिले राजनीतिमा सक्रिय छन् । 

पार्टी गठनको केही समयमै चुनावमा गएको सो पार्टीले प्रतिनिधिसभातर्फ चार सिट जितेर सत्तामा पुगेको छ । रेशमकी श्रीमतीसमेत रहेकी भूमि व्यवस्था मन्त्री रन्जिता श्रेष्ठ अहिले अध्यक्ष छिन् । 

उनी पनि अध्यक्षको आकांक्षी रहेको यसअघि चर्चा थियो । तर, अहिलेसम्म श्रेष्ठको उम्मेदवारी नपरेको बताइएको छ ।

टिप्पणीहरू