मधेसमा अचेल यस्तै देखिन्छ मानचित्र

मधेसमा अचेल यस्तै देखिन्छ मानचित्र
सुन्नुहोस्

ठूला दल र पहाडे समुदायका नेताहरुले समावेशिताको मुद्दा स्वीकार्न नसकेको आरोप लगाउने मधेश केन्द्रित दल र अन्य क्षेत्रीय पार्टीहरु नै उक्त मुद्दामा अडिन नसकेको गुनासो सुनिन थालेको छ । 

नागरिक उन्मुक्ति पार्टीको नवगठित केन्द्रीय समितिमा पूर्वी तराईबाट प्रतिनिधित्व नगराइएपछि मधेसका अगुवा कार्यकर्ताले त्यस्तो गुनासो गरेका हुन् । सो पार्टीको हालै सम्पन्न प्रथम महाधिवेशनले रेशमलाल चौधरीलाई निर्विरोध अध्यक्ष चयन गर्दै नयाँ कार्यसमिति बनाउँदा मधेसलाई उपेक्षा गरेको भन्दै त्यहाँका थारु बुद्धिजीवीहरुले पनि चर्को असन्तुष्टि जनाएका छन् । 

'रेशमको पार्टीलाई गत निर्वाचनमा पूर्वका थारुहरुले राम्रै मत दिएका थिए । तर, त्यसलाई अलिकति पनि सम्बोधन हुनेगरी कार्यसमिति बनाएको भने देखिएन', रेशमप्रति सहानुभूति रहेकै कारण चुनावमा नागरिक उन्मुक्तिलाई समर्थन गरेका एक थारु अगुवाले भने । उनका अनुसार पूर्वी तथा मध्य तराईका थारु समुदाय असन्तुष्ट रहेकाले आगामी चुनाव नागरिक उन्मुक्तिका लागि चुनौतीपूर्ण हुनेछ ।     

"रेशमले थारुहरुलाई चिढ्याउने, लकाँग्रेसले गैरमधेसी बोक्ने, राजेन्द्र महतोहरु छेउ किनारमा पर्ने अनि माओवादी, जसपा र सिकेहरु आफैँ सुस्ताइरहेको स्थितिले मधेसमा एमाले प्रभावी बन्दैछ ।"

यता,राष्ट्रिय सभा चुनावमा नेपाली काँग्रेसले मधेशी कोटामा गैरमधेसी समुदायका आनन्द ढुंगानालाई उम्मेदवार उठाएकोप्रति मधेशका कांग्रेसीहरुको असन्तुष्टी छ । आफूलाई लोकतान्त्रिक तथा समावेशिताको पक्षधर दावी गर्ने र मधेसमा राम्रो जनाधार रहेको कांग्रेसले एक सिटको मधेसी कोटामा समेत ढुंगानालाई च्यापेपछि त्यहाँका कांग्रेसीहरु रिसाएका हुन् । 

यो घटनाले मधेसप्रति शेरबहादुर देउवाको भित्री सोच प्रतिबिम्बित भएको भनिँदैछ । देउवालाई खुशी तुल्याएर नेतृत्वमा पुग्ने दौडमा रहेका र बिमलेन्द्र निधिको भूमिका सकारात्मक नभएकै कारण गैरमधेसीलाई भोट हाल्नुपर्ने अवस्था बनेको भन्दै राष्ट्रिय सभा चुनावमा मतदातासमेत रहेका मधेसका कांग्रेसीहरुले निको मानेका छैनन् ।

भारतीय दूतावासले नेपालमा सोझै २० करोड खर्च गर्न पाउने गरी भएको सम्झौताको समर्थनमा हत्त न पत्त वक्तव्य निकाल्ने निधिलाई भने त्यसतर्फ कुनै चिन्ता देखिंदैन । 'बिमलेन्द्र निधि भारतको स्वयंसेवक बन्ने लाइनमा छन्', कांग्रेसका एक नेताले भने, 'त्यही भएर उनले चाकडी गर्दै वक्तव्य निकालेको हो ।'

रेशमले थारुहरुलाई चिढ्याउने, काँग्रेसले गैरमधेसी बोक्ने, राजेन्द्र महतोहरु छेउ किनारमा पर्ने अनि माओवादी, जसपा र सिकेहरु आफैँ सुस्ताइरहेको स्थितिले मधेसमा एमाले प्रभावी बन्दैछ । मधेसका मुद्दामा सधैँ प्रखर जसपा र सिके राउतको जनमत पार्टी आपसी कलहमा छन् । मधेसप्रति सकारात्मक सुनिने माओवादीको चार्म पहिले जस्तो छैन । कुनैबेलाका चर्चित मधेसी नेता मात्रिका यादवलाई पार्टीले कर्णाली प्रदेशको इञ्चार्ज बनाएर पठाएपछि केही महिनायता उनी खासै सक्रिय देखिएका छैनन् ।  

एमालेले भने निरन्तर मधेस केन्द्रित कार्यक्रम गरिरहेकाले पनि उसको गतिविधि देखिएको हो ।

टिप्पणीहरू