प्रदेश सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको जनमतको ठहर, छानबिन गर्न हारगुहार

प्रदेश सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको जनमतको ठहर, छानबिन गर्न हारगुहार
सुन्नुहोस्

सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशमा भएका दर्जनौं भ्रष्टाचार काण्डको छानबिन गर्न माग गरेको छ । 

जसपा नेतृत्वको गठबन्धन सरकारले अनेक भ्रष्टाचार गरेको आरोप लगाउँदै सबै काण्ड छानबिन गरी दोषीलाई कारबाही गर्न सो पार्टीले सरोकारवाला निकायसँग आग्रह गरेको हो । जनमतका राष्ट्रिय सचिव बीपी साहको निजी सचिवालयले विज्ञप्ति जारी गर्दै जसपा नेतृत्वको सरकारले मधेश आन्दोलन तथा मधेशी शहिदहरुको भावनालाई कुल्चिएर संघीयतालाई समाप्त पार्न खोजेको आरोप लगाएको छ । 

साइकल चोरी काण्ड, स्वच्छता काण्ड, बेटी ठगी काण्ड, जानकी मन्दिरमा भ्रष्टाचार काण्ड, सर्प काण्ड, शहीद परिवार ठगी काण्डले मधेशी समुदायको स्वाभिमान गिराएको सचिवालयको भनाई छ । 

विज्ञप्तिमा भनिएको छ,‘मधेश आन्दोलन तथा मधेशी शहीदहरुको भावनालाई कुल्चिँदै संघीयतालाई समाप्त पार्ने, मधेशी जनताको स्वाभिमान गिराउने कार्य जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेश प्रदेश सरकारबाट विगत ६ वर्षमा भएकोले सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै सम्बन्धित पक्षबाट छानबिन गरी कारबाहीको दायरामा ल्याई मधेशको स्वाभिमान उच्च राख्न हार्दिक अनुरोध गर्दछु ।’

त्यस्तै, जसपा नेतृत्वको सरकारले पछिल्लो आर्थिक वर्षमा नियम मिचेर गरेको अनुदान वितरण एवं रकमान्तर काण्ड, कृषि अनुदान तथा कोल्ड स्टोर निर्माणमा भ्रष्टाचार काण्ड, लेखा समितिद्धारा ठहर भएको सर्लाहीको भरत ताल निर्माणमा ४५ करोड भ्रष्टाचार काण्ड, मधेश परिवहन काण्डसहितका भ्रष्टाचार र अनियमितताको मूल्याङ्कन गर्न सचिवालयले मधेशी समुदायसमक्ष आह्वान गरेको छ ।

टिप्पणीहरू