प्रधानमन्त्री र राष्ट्रिय सभाका अध्यक्ष एउटै उडानमा अफ्रिका र क्यानडा प्रस्थान

प्रधानमन्त्री र राष्ट्रिय सभाका अध्यक्ष एउटै उडानमा अफ्रिका र क्यानडा प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल गएराति अफ्रिकी मुलुक युगाण्डा जानुभएको छ । प्रधानमन्त्रीसँगै राति एउटै उडानमा दोहा प्रस्थान गर्नुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना क्यानडा जानुभएको बताइएको छ । 

उहाँहरु कतार एवरवेजको उडान नम्बर क्युआर ६४५ मा राति पौने ३ बजे काठमाडौंबाट प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्रीको टोलीमा एघार जना छन् भने अध्यक्ष तिमिल्सिनाको टोलीमा तीन जना छन् ।

प्रधानमन्त्री राजधानी कम्पालामा आयोजित असंलग्न राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यता जानुभएको हो । टोलीमा उहाँकी छोरी तथा निजी सचिव गंगा दाहाल, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दिलिपकुमार पौडेल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. रुपक सापकोटा, स्वकीय सहसचिव मनहरि शर्मा छन् । 

त्यसैगरी, परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकृत प्रवीण भट्टराई, प्रमुख सेनानी निरज भण्डारी, प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपाने, सहसेनानी भरतकुमार खड्का, नेपाल टेलिभिजनका क्यामरा पर्सन नवराज दाहाल र राष्ट्रिय समाचार समितिका फोटोग्राफर रत्नकृष्ण श्रेष्ठ पनि सोही टोलीमा कम्पाला गएका हुन् ।

यता अध्यक्ष तिमिल्सिनाको टोलीमा स्वकीय सचिव उदय तिमिल्सिना र परशुराम बस्नेत रहेको संसद सचिवालयले जनाएको छ ।प्रधानमन्त्री आगामी आइतबार र अध्यक्ष माघ १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।
 

टिप्पणीहरू