राष्ट्रियसभा चुनावमा ३८ प्रकारका मतपत्र
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले सातवटै प्रदेशमा मतपत्र पठाएको छ ।
आयोगले निर्वाचनका लागि स्वीकृत गरेको डिजाइन तथा मापदण्डबमोजिम मतपत्र छापेर सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा पुर्याइसकेको जानकारी दिएको हो ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख/उपप्रमुख रहेको निर्वाचक मण्डलद्धारा मतदान हुने कानूनी व्यवस्था छ । सोहीअनुरुप आयोगले फरक-फरक रंगको मतपत्र छापेको छ ।
प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको चिन्ह्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको निर्वाचन चिन्ह्र रहने छन् । आयोगका अनुसार प्रदेशगत रुपमा रहेको निर्वाचक मण्डलका सदस्यको संख्या तथा निर्वाचन हुने पद संख्यालाई आधार मानेर संख्यागत मापदण्डका आधारमा मतपत्र छापिएको हो ।
जसअनुसार कोशी र मधेश प्रदेशमा निर्वाचन हुने समान दुई पदका लागि चार प्रकारका ९४० थान, बागमतीमा चुनाव हुने चार पदका लागि आठ प्रकारका १७ सय ६० र गण्डकीका तीन पदमा हुने चुनावका लागि ६ प्रकारका ९०० थान मतपत्र पठाईएको छ ।
त्यस्तै, लुम्बिनी प्रदेशमा हुने दुई पदका लागि चार प्रकारका ७४०, कर्णालीमा तीन पदका लागि ६ प्रकारका ७५० र सुदूरपश्चिममा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० थान मतपत्र आयोगले पठाएको हो । कुल ३८ प्रकारका ६ हजार ९१० मतपत्र छापेर पठाएको आयोगले जानकारी दिएको छ ।
आगामी फागुन २० गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्य पदको लागि यही माघ ११ गते निर्वाचन हुदैंछ । मतदान सम्बन्धित प्रदेशका तोकिएका मतदानस्थल तथा मतदान केन्द्रहरुमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म हुनेछ ।
निर्वाचनबाट निर्वाचित हुने सदस्यहरुको पदावधि २०८० फागुल्न २१ गतेदेखि ६ वर्षसम्म रहनेछ ।
टिप्पणीहरू