आफ्नै पार्टीको सरकारविरुध्द नारा लाउने काँग्रेस कार्यकर्ता समातिए
माइतीघर मण्डलाको निषेधाज्ञा खारेजीको माग गर्दै सडकमा उत्रिएका सत्तारुढ नेपाली कांग्रेसका डेढ दर्जन कार्यकर्ता पक्राउ परेका छन्।
मातृ पार्टी कांग्रेससमेत सम्मिलित सरकारको विरोधमा उत्रिएका नेविसंघका कार्यकर्ताले माइतीघर मण्डलाको निषेधाज्ञा तोड्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडपसमेत भएको जनाइएको छ ।
आज मध्याह्न १२ बजेतिर नेविसंघ काठमाडौ जिल्ला अध्यक्ष अंशुल केसीको नेतृत्वमा केन्द्रीय सदस्य एनपी जोशी, आदर्श मल्लसहित डेढ दर्जन प्रदर्शनकारी माइतीघर पुगेका थिए । टाउकोमा कालोपट्टी र हातमा निषेधाज्ञा खारेज गर लेखिएको पम्पलेट लिएर थापाथली क्याम्पसबाट माइतीघर मण्डलातर्फ जाने क्रममा उग्र नारावाजी गरेपछि उनीहरुलाई प्रहरीले समातेको हो ।
दुर्गा प्रसाईं र एमाले नेता महेस बस्नेतले एकैदिन आन्दोलन घोषणा गरेपछि सम्भावित सुरक्षा खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले दुई महिनाअघि माइतीघर मण्डलासहित उपत्यकाका विभिन्न क्षेत्रमा जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन र सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको थियो । पछिल्लो पटक निषेधाज्ञा पुन: लम्ब्याइएको छ ।
टिप्पणीहरू