केन्द्रीय समितिले रविलाई कसेपछि

केन्द्रीय समितिले रविलाई कसेपछि
सुन्नुहोस्

सञ्चारकर्मबाटै राजनीतिमा प्रवेश गरेका रवि लामिछाने सञ्चार माध्यमप्रति चर्को आक्रोश पोख्ने नेपाली नेताको शीर्ष स्थानमा पर्छन् । नागरिकता किर्ते प्रकरणमा सर्वोच्च अदालतले दोषी ठहर्याएपछि सत्ताबाट बाहिरिन बाध्य हुँदा पत्रकार सम्मेलन नै गरेर उनले ठूला मिडिया हाउस,त्यसका सन्चालक र सिंगो प्रेसमाथि धावा बोलेका थिए ।

केही पत्रकारको नामै लिएर व्यक्तिगत लान्छनासमेत लगाएका उनले बनाइदिएको '१२ भाइ' को भाष्य अझै चर्चामा छ । कतिसम्म भने अहिले त प्रमाण जुटाएर लेखेका समाचारलाई समेत '१२ भाइ' भनेर उडाउने गरिन्छ । 

त्यसयता पनि बेलाबखत सञ्चार माध्यमप्रति कटाक्षपूर्ण टिप्पणी गर्ने लामिछाने कान्तिपुरमा प्रकाशित समाचारको खण्डन गर्न हिजो आयोजित पत्रकार सम्मेलनमा भने नाटकीय ढंगले शालिन देखिए । पत्रकार सम्मेलनका दौरान आफूमाथिको आरोपको कमजोर खण्डन गरेका उनी सञ्चार माध्यमप्रति नरममात्र सुनिएनन्,प्रेस स्वतन्त्रताको पक्षमा रहेको जिकिरसमेत दोहोर्याईरहे ।

सहकारी ठगी प्रकरणमा संलग्नता पुष्टि हुनेगरी शृंखलावध्द खोज समाचार लेखिरहेको कान्तिपुरमा ग्यालेक्सी टेलिभिजन छाड्दा लामिछानेले १ करोड ८० लाख बुझेको भौचरसहितको अर्को समाचार सार्वजनिक भएपछि 'त्यस्तो होइन' भन्न प्रेस मिट गरिएको थियो । प्रेस मिटका लागि निम्तो दिन उनले लेखेको फेसबुक स्टाटससमेत निकै कडा भएकाले गत वर्षजस्तै उनी मिडियामाथि बेस्कन खनिने अनुमान धेरैको थियो । तर,लामिछाने त्यसरुपमा प्रस्तुत भएनन् । 

'सभापतिविरुध्द जुनसुकै बेला मुद्दा पर्ने अवस्था समेतलाई हेरेर सहकारी पीडितको पक्षमा रास्वपा छ भन्ने पार्न पनि यो गर्नुपर्ने नै थियो', रास्वपा

वास्तवमा के सञ्चार क्षेत्रप्रतिको उनको दृष्टिकोण बद्लिएकै हो ? कि समाचारको बस्तुनिष्ठ खण्डन गर्ने आधार गुमाएकाले अत्तालिएका हुन् ? रास्वपाकै एकजना केन्द्रीय तहका नेताका अनुसार दुबै होइन । केन्द्रीय समिति बैठकले पत्रकार, सम्पादक र समग्र मिडियाप्रति गलत दृष्टिकोण नराख्न र आक्रामक अभिव्यक्ति नदिन सचेत गराएपछिको परिणाम हो यो । 

बताइएअनुसार पोखराको खोया काण्डपछि बनस्थलीस्थित पार्टी मुख्यालयमा बसेको बैठकले लामिछानेलाई सञ्चार माध्यममाथि टिप्पणी गर्दा होस पुर्याउन सचेत गराएको थियो । सभापतिको यसअघिका अभिव्यक्तिहरुको समेत विश्लेषण गर्दै नेताहरुका अभिव्यक्तिले सिङ्गै पार्टीलाई क्षति पुर्याउन सक्ने अवस्थाप्रति सबै सचेत रहनुपर्नेमा जोड दिइएको थियो ।

लामिछानेमाथि उठेका कतिपय प्रश्न उनका तत्कालिन पार्टनर गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जेबी राईसँगको निजी लेनदेनको विषय भएकाले पार्टी जोडिनु उपयुक्त नहुने धारणा पनि बैठकमा केहीले राखेका थिए । तर,आफू अनुकूल हुनेगरी नेताहरुको टीम बनाएका लामिछानेलाई अप्ठेरो पार्ने निर्णय भने बैठकले गरेन । 

ती नेताका अनुसार हिजोको प्रेस मिटमा पनि बैंकर अनिलकेशरी साह र वरिष्ठ अधिवक्ता सुशील पन्तले शुरुमा सँगै बस्न रुचि देखाएका थिएनन् । सभापति र जेबी राईको आपसी लेनदेनको विषयमा जोडिनु उपयुक्त नहुने उनीहरुको आशय थियो । तर,लामिछानेले पटक-पटक आफू निर्दोष रहेकाले ढुक्क रहन आग्रह गरेपछि उनीहरु सभापतिलाई वीचमा पारेर दुईतिर बस्न राजी भएको बताइन्छ । 

त्यसो त, रास्वपाकै एकथरी नेताहरुलाई पनि सहकारी प्रकरणमा सभापति कतै न कतै चुकेको आशंका छ । सभापतिकै कारण पार्टीप्रति नकारात्मक धारणा नबनोस् भनेर चलाखीपूर्वक सहकारीका बचतकर्ताहरुको मुद्दा समातेको बताइन्छ । रास्वपाले कार्यदल नै बनाएर सहकारी समस्याको समाधानबारे अध्ययन गरेको थियो ।

'सभापतिविरुध्द जुनसुकै बेला मुद्दा पर्ने अवस्था समेतलाई हेरेर सहकारी पीडितको पक्षमा रास्वपा छ भन्ने पार्न पनि यो गर्नुपर्ने नै थियो', रास्वपा स्रोतले भन्यो । 

सम्भवत: हिजोको प्रेस मिटमा स्वर्णिम वाग्लेले सहकारी समस्या र समाधानका उपायबारे लामो ब्रिफिङ गर्नुको अर्थ पनि त्यही हो ।

टिप्पणीहरू