सम्झाउन जाने प्रहरी नै संकटमा

सम्झाउन जाने प्रहरी नै संकटमा

हिजो आइतबार बेलुका बाँफीकोट गाउँपालिका ३ स्यार्पुमा ड्युटीमा गएका प्रहरीमाथि स्थानीय युवाले आक्रमण गर्दा दुई जना प्रहरी जवान घाइते भएका छन् । ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानद्वय महेन्द्रबहादुर शाही र हिमराज खड्का घाइते भएका हुन् । 

स्थानीयको विवाद मिलाउन गएका प्रहरीमाथि नै आक्रमण हुँदा दुई जना प्रहरी जवान घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए ।  

उनका अनुसार बाँफीकोट गाउँपालिका ५ का ३४ वर्षिय हिरालाल केसीलाई ३ का २७ वर्षिय गोबिन्द बिक, वडा नम्बर ४ का २२ वर्षिय लक्ष्मण बिक, २० वर्षिय सञ्जु खड्का लगायत अन्य १२, १३ जनाको समूहले कुटपिट गरेको सूचनापश्चात प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलमा पुगेर सम्झाई बुझाई गर्न खोज्दा उल्टै प्रहरीमाथि आक्रमण भएको उनले बताए । 

उनीहरुले प्रहरीमाथि हातपात गर्दै ढुङगासमेत प्रहार गरेर घाइते बनाएको खड्काले उल्लेख गरे । आक्रमणमा परी घाईते भएका प्रहरी जवान शाहीको ढाडमा र खड्काको टाउकोमा चोट लागेको छ । 

उपचारका लागि शनिबार राती जिल्ला अस्पताल सल्ले ल्याईएका उहँँहरुलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । प्रहरी माथि हातपात तथा कुटपिट गर्ने व्यक्तिहरु फरार रहेको र उनीहरुको खोज तलास भइरहेको प्रहरीको भनाई छ ।

टिप्पणीहरू