संसदको क्यान्टिनमा के के राजनीति पाक्दै ?
केपी ओली एक वर्षभित्रै जेल जाने गफ लाउँदै हिंडेका एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरी हिजो दिउँसो संसद भवन बाहिरको क्यान्टिनमा एक दर्जन जति सञ्चारकर्मीको घेरामा परे । सोधियो- केपी ओली जेल जाने तपाईंको दावी वर्ष दिन बितिसक्दा पनि सत्य सावित भएन नि ? उनले जवाफ दिए - एक वर्ष पुग्न अझै एक महिना बाँकी छ ।
त्यसक्रममा चौधरीले अख्तियारमा भएका भ्रष्टाचारका फाइलभित्र केपीको अनुहार देखिने दावी गर्दै राज्य व्यक्तिले गरेका कर्तुतका अगाडि निरीह नबनोस् भन्ने आफ्नो अभिव्यक्तिको आशय रहेको पनि प्रस्ट पारे । ओलीले चाँडै सजायँ पाउने उनको भनाई छ ।
चौधरी गत निर्वाचनमा दाङ-१ बाट प्रतिनिधिसभामा निर्वाचित हुँदा एमाले महासचिव शंकर पोखरेल भने क्षेत्र नम्बर २ बाट पराजित भएका थिए । उनले अर्को प्रसंगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राजीनामा नदिने पनि बताए । उनको भनाइ थियो - यो इगोको विषय बनिसकेको छ, त्यसकारण उहाँको राजीनामा आउँदैन ।
त्यसै क्रममा उनले आगामी फागुन २७ गते मन्त्रिपरिषद हेरफेर हुने दावी गरेका छन् । प्रमुख सचेतकका रुपमा जानकारी गराउँछु - (किसान श्रेष्ठ) किसानजी मन्त्री बन्दै हुनुहुन्छ । उनको भनाईअनुसार पुनर्गठित क्याबिनेटमा समाजवादीले तीन वटा क्लस्टरमा नयाँ ३ जनालाई मन्त्री बनाउने छ । मधेसबाट किसान श्रेष्ठ,कर्णालीबाट धनबहादुर बूढा र राजेन्द्र पाण्डे खस-आर्य समुदायबाट क्याबिनेटमा जाने पक्कापक्की भएको उनले दावी गरे
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीसमेत भैसकेका बूढाको डोल्पामा व्यक्तिगत प्रभाव रहँदै आएको छ । उनकै प्रभावले गत स्थानीय चुनावमा डोल्पाका ३ वटा पालिकामा समाजवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए । समाजवादीले निर्वाचनमा सुखद खाता खोल्नुमा उनको भूमिका महत्वपूर्ण मानिन्छ ।
राजनीतिभन्दा व्यक्तिगत व्यवसायमै रमाउने गरेका बूढा राज्यमन्त्री हुँदा पनि पारिवारिक र व्यापारिक काममै व्यस्त रहने गरेको मन्त्रालयका तत्कालीन एक सहसचिवले सुनाए ।
यसैगरी दोस्रोपटक मन्त्री बन्ने भनिएका किसान श्रेष्ठ हालका राष्ट्रपति रामचन्द्र पौडेललाई ०७४ सालको चुनावमा तनहुँबाट हराएर एकाएक चर्चामा आएका व्यवसायी हुन् । ठेकेदार हुँदै राजनीतिमा फड्को मारेका उनी यसपटक पनि तनहुँबाटै चुनाव लड्न चाहन्थे । तर, गठबन्धनका कारण पौडेललाई त्यहाँ छोड्न परेपछि मधेस झरे र, बारा-४ बाट चुनाव जिते ।
त्यसो त उनी हक्की स्वभावका पनि छन् । एक महिना पहिला तनहुँको आँबुखैरेनी महोत्सवमा प्रमुख अतिथिका रुपमा मन्चमा देखा परेका उनले त्यही क्षेत्रबाट निर्वाचित 'सेलिब्रेटी सांसद' स्वर्णिम वाग्लेलाई च्यालेन्ज गर्दै भनेका थिए- बारा-४ बाट म राजीनामा दिन्छु,तपाईं तनहुँबाट दिनुस् र फेरि उपचुनाव लडौँ ।
वाग्लेले आफूलाई तनहुँमा कुनै साइनो सम्बन्ध नभएको भन्दै प्रचार गरेकोप्रति जवाफमा उनको यस्तो च्यालेन्ज आएको हो । यता,धादिङबाट निर्वाचित राजेन्द्र पाण्डे पनि माधव नेपालको रोजाइमा मन्त्री बन्ने बताइन्छ ।
प्रकाश ज्वालाले सम्हालिरहेको भौतिक पूर्वाधार मन्त्रालय पाउन उनीहरुबीच तानातान हुने देखिन्छ ।
टिप्पणीहरू