‘रवि र निकिताले बिहे खर्च लगेको, ढाकाले त्यो ऋण तिरेर सांसद बनेको’
![‘रवि र निकिताले बिहे खर्च लगेको, ढाकाले त्यो ऋण तिरेर सांसद बनेको’](https://janaaastha.prixacdn.net/media/albums/rabi_lamiahhane_sahakari_BZFyBpF7dU.jpg)
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी कान्छी पत्नी निकिता पौडेलले आफू उपाध्यक्ष रहेको राजधानीको सत्य साई सहकारीबाट बिना धितो ५० लाख रुपैयाँ ऋण लिएको बलियो तथ्य खुलेको छ । सहकारीका तत्कालीन अध्यक्ष भरत जंगमले नै उक्त कुरा स्वीकारेका छन् ।
सहकारीको नियमानुसार पदाधिकारीले त्यसरी ऋण लिन पाईंदैन । पूर्व पतिलाई छाडेर नयाँ श्रीमान् रविसँग विवाह गर्न पर्याप्त रकम नभएपछि निकिताले उपाध्यक्ष बनेर ऋण लिने उपाय अपनाएको अब जगजाहेर भइसकेको छ । शाही शासनकालमा चर्कैसँग भ्रष्टाचारविरोधी अभियान चलाएर चर्चित उनै जंगमले त्यो कुराको अहिले खुलासा गरेका हुन् ।
‘ऋण निकिताले नै बुझेकी हुन् । तर पछि ऋण तिरेको ढाकाकुमारले हो । ढाकाकुमार कहिल्यै देखा परेनन् । तिर्ने बेलामा पनि निकिता र रवि दुबैजना आएका थिए ।’
ग्यालेक्सी फोर के टेलिभिजनमा गरिएको सहकारीको रकम लगानीबारे चर्चा हुन थालेपछि तीन वर्षपश्चात् सत्य साईबाट पनि क्लिन चिट लिन निकिताले उपाध्यक्ष छाडेको तथ्य खुलिसकेको छ । २०७६ देखि २०७९ सालसम्म उक्त सहकारीमा आवद्ध उनको राजीनामा गत असारमा स्वीकृत भएको पत्र अहिले आएर बल्ल सफाइका रुपमा पेश गरिनु आफैंमा अचम्मको कुरा हो । त्यहाँ काठमाडौं महानगरपालिकाले पीडितहरुको उजुरीका आधारमा गतसाता छापा मारेको थियो ।
ऋण लिएको दुई वर्षपछि समानुपातिक सांसद बनेका डा.ढाकाकुमार श्रेष्ठमार्फत् साँवा–ब्याजसहित करिब ७५ लाख सहकारीलाई नै फिर्ता गरिएकोमा चित्त दुखाउनेमध्येका हुन् भरत जङ्गम । ‘पैसा पाउने, सांसद हुने र पति पाउने उनीहरू, दुःख पाउने म !’ भन्दै भरतले जनआस्थासँगको कुराकानीमा धेरै दुःखेसो पोखेका छन् ।
‘निकिताले फोनमा कुरा गर्छिन्, रविले गर्दैन । एक वर्षअघि निकिता मेरै अफिसमा आएकी थिइन् । रविले उनी आउनुअघि फोनमा कुरा गरेका थिए । निकिताको राजीनामा स्वीकृत नभएकाले होला ‘मलाई दुःख दिने बुबा ?’ भने । त्यसपछि निकिता उपाध्यक्षबाट बाहिरिएकी हुन् ।’
जंगमसँगको कुराकानी र सहकारीको पछिल्लो अवस्थाले गम्भीर प्रश्नहरु उब्जाएको छ । सहकारी ऐन र सहकारी विनियमावली अनुसार साधारण सभाबाट सहकारी संस्थाको सञ्चालक समिति र लेखा समिति बन्दछ । जुन सभाले सञ्चालक समिति बनाउँछ उसले नै राजीनामा स्वीकृत गर्छ । अध्यक्षले उपाध्यक्ष बनाउन मन लागेको दिन उपाध्यक्ष र राजीनामा दिँदा स्वीकृत हुँदैन । अध्यक्षले चाहेर हर्जाना मिनाहा गर्ने कुरा असम्भव हुन्छ । एकाएक सहकारी अध्यक्षविहीन वा परिवर्तन कसरी हुन्छ ? सञ्चालक समितिका अन्य पदाधिकारी र समितिहरु कहाँ छन् ? किन साधारण सभा नगरेको ? भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने भएको छ ।
प्रस्तुत छ उनीसँगको कुराकानी :
५० लाख ऋण लिने निकिता,तिर्ने ढाकाकुमार भन्छन् नि ?
-हो भन्या ।
निकिताले रविसँगको दोेस्रो विवाहका लागि ऋणको जोहो गरेकी हुन् ?
-हो,लगभग कुरो त्यही हो । उनले ऋण लिएकै हुन् । तर त्यो रकम कहाँ खर्च गरे,कसलाई तिरे,के के गरे भनेर डिटेल जान्ने कुरो भएन । ऋण निकिताले नै बुझेकी हुन् । तर पछि ऋण तिरेको ढाकाकुमारले हो । ढाकाकुमार कहिल्यै देखा परेनन् । तिर्ने बेलामा पनि निकिता र रवि दुबै जना आएका थिए ।रवि र निकिताले चेकबाट बुझाएका थिए कि नगदबाट भन्ने ठ्याक्कै याद भएन । धेरै अघिको कुरो हो । तर तिर्न आफैँ आएका थिए । ढाकाकुमारले तिरिदिएको भनिन्थ्यो ।
निकिताले सहकारीसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएकी छन् । कुरो के हो ?
-सहकारीका व्यवस्थापक दिलबहादुरले नै भनेका छन् दुई वर्षअघि राजीनामा दिएको र त्यो राजीनामा लामो समयपछि स्वीकृत भएको हो भनेर । यतिखेर म, निकितालगायत धेरैजना उक्त सहकारीमा छैनौं । त्यतिबेला उनी उपाध्यक्ष थिइन् ।
संस्था डुबाउनेमा तपाईंको नाम पनि जोडिएको छ नि ?
-सहकारीमा उल्टै मेरो ८० लाख फसेको छ । मेरो सोही रकम फिर्ता गर्ने कुरो उठाएपछि नै त्यहाँभित्रको बदमासी पर्दाफास भएको हो । अहिले सहकारी लगभग बन्द अवस्थामा छ । स्टाफ छन् तर बन्द छ । अलि अलि सकेको उठाउँदै सानो सानो बचत रकम फिर्ता गरिएको छ ।
२ करोड २२ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा सिआइबीले रामहरि अधिकारी,शंकर उपाध्याय,जनक गौतमविरुद्ध मुद्दा चलाएको छ । शंकर सचिव हुन् । सहकारी बिगारेकै यो फटाहा ग्रुपले हो ।
सबैभन्दा धेरै रकम डुबाउने हाइ प्रोफाइलमा को को छन् ?
-पीडित हाइ प्राेफाइल भनेको म मात्रै हुँ ।
निकिता पदमा हुँदाको अपचलन र कमजोरीको जिम्मेवारीे लिन पर्दैन ?
-किन नपर्नु ! लाज भए पर्छ । पदमा रहँदाको अन्य कमीकमजोरीको जिम्मेवारी लिनैपर्छ । म स्वयम् ८० लाख फसाएर पूर्व अध्यक्षको जिम्मेवारीमा बाँधिएको छु । तर,मैले पदाधिकारी भएर ऋणचाहिँ लिएको छैन ।
भ्रष्टाचार विरोधी अभियन्ता अहिले यो लफडामा परेको छु । भोलिका दिनमा छानबिनपछि सबै वास्तविकता खुल्नेमा ढुक्क छु ।
सहकारीको सदस्य नै नबनेर ऋण लिन सकिन्छ ?
-निकिता ऋण लिने शर्तमा उपाध्यक्ष बनेकी हुन् । पाँच सात हजार रुपैयाँको सेयर हालेर सदस्य बनिन् । लिएको लोन जसो तसो तिरिन् । उपाध्यक्ष भएर लोन लिनु गैरकानुनी हो ।
रवि दम्पतीसँग सम्पर्क हुन्छ कि हुँदैन अचेल ?
-निकिताले फोनमा कुरा गर्छिन्, रविले गर्दैन । एक वर्षअघि निकिता मेरै अफिसमा आएकी थिइन् । रविले उनी आउनुअघि फोनमा कुरा गरेका थिए । निकिताको राजीनामा स्वीकृत नभएकाले होला ‘मलाई दुःख दिने बुबा ?’ भने । त्यसपछि निकिता उपाध्यक्षबाट बाहिरिएकी हुन् ।
टिप्पणीहरू