मतदाता नामावली दर्ता पुन: सुचारु

मतदाता नामावली दर्ता पुन: सुचारु

निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुन: सुचारु गर्ने भएको छ । उपचुनाव घोषणासँगै फागुन १४ गतेबाट स्थगित नामावली दर्ता प्रक्रिया आयोगले भोलिदेखि शुरु गर्न लागेको हो । 

आयोगका अनुसार इलाम र बझाङ बाहेक सबै जिल्लामा नामावली दर्ता गरिने छ । यी दुई जिल्लामा भने उपचुनाव सम्पन भएलगत्तै वैशाख २५ गतेदेखि सुचारु हुनेछ । 

प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट साविकमा झैं सम्बन्धित निर्वाचन अधिकारीले नामावली दर्ता गर्ने आयोगले जनाएको छ । पेशा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक जिल्लामा बसोबास गर्नेको हकमा नाम दर्ताका लागि आवश्यक प्रमाणसहित प्रि–रजिष्ट्रेशन प्रणालीमार्फत आवेदन गर्न सक्नेछन् । 

त्यसैगरी, सोमबारदेखि मतदाता नामावलीमा रहेका नाम, जन्ममिति, नागरिकतासम्बन्धी विवरण, बाबुको नाम, आमाको नाम, पति वा पत्नीको नाम, बाजेको नाम, वडाभित्रको मतदानस्थललगायतका विवरणमा रहेको त्रृटि सच्याउन पनि सकिने छ । 

मतदाताको नामावली सार्न, दोहोरो नाम हटाउन, नागरिकता त्याग, रद्द तथा मृत्यु भई नामावलीबाट नाम हटाउन निवेदन दिन र झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश भएको भए उजुरी दिनसमेत आयोगले भनेको छ ।

टिप्पणीहरू