जेनजी घटनाका चार सय बढी मुद्दा दर्ता, पक्राउ पर्ने कति ?
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा हिंसात्मक र ध्वशांत्मक घटनामा संलग्न भएको आरोपमा देशभर झण्डै ९ सय जना समातिएका छन् । गत पुस १ गतेसम्म ४०४ वटा मुद्दा दर्ता भएकोमा ८९८ जना पक्राउ परेका हुन् । नेपाल प्रहरीको तथ्याङ्कअनुसार काठमाडौंमा १६० मुद्दा दर्ता भएको छ । जसमध्ये अपराधिक उपद्रवको १०१, कर्तव्य ज्यानको तीन, चोरीको १६, अभद्र व्यवहारको २०, हातहतियार खरखजानाको १८ र ज्यान मार्ने उद्योगको दुई रहेको छ ।
ती कसुरमा ३०९ जना पक्राउ परेका छन् । त्यसमध्ये अपराधिक उपद्रवमा १९३, कर्तव्य ज्यानमा १६, चोरीमा २८, अभद्र व्यवहारमा २३, हतियार खरखजानामा ४७ र ज्यान मार्नेमा दुई जना रहेका छन् । यता, ललितपुरमा ३३ जना पक्राउ परेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, २५ वटा मुद्दा दर्ता गरिएको छ । अपराधिक उपद्रवमा १४ वटा मुद्दा दर्ता हुँदा आठ जना पक्राउ परेका छन् । अपराधिक उपद्रव, चोरी तथा संगठित अपराधमा ६ वटा मुद्दा दायर भएको छ । सो कसुरमा १७ जना अभियुक्त समातिएका छन् ।
अपराधिक उपद्रव, हातहतियार गोलीगठ्ठा चोरी तथा संगठित अपराधमा दुईटा मुद्दा दर्ता भएकोमा दुई जना नै पक्राउ परेका छन् । भवितव्य ज्यानमा एउटा मुद्दा दर्ता गरिएको छ । तर, सो कसुरमा एक जना पनि समातिएका छैनन् । डाँका, चोरी तथा अपराधिक उपद्रवसमेतमा दुईटा मुद्दा दर्ता हुँदा ६ जना पक्राउ परेको तथ्याङ्क छ । भक्तपुरमा १५ वटा मुद्दा दर्ता हुँदा ४२ जना प्रहरी हिरासतमा पुगेका छन् ।
अभद्र व्यवहारमा दुई, अपराधिक उपद्रवमा आठ, चोरीमा तीन, लागुऔषधमा एक, हातहतियार खरखजानामा एक मुद्दा दर्ता भएको छ । अभद्र व्यवहारमा पक्राउ पर्नेको संख्या पाँच, अपराधिक उपद्रवमा २८, चोरीमा चार, लागुऔषधमा चार र हातहतियार खरखजानामा एक रहेको छ । कोशी प्रदेशमा ४१ वटा मुद्दामा ११२ जना पक्राउ परेका छन् । मोरङमा पक्राउ पर्नेको संख्या सबैभन्दा धेरै छ । २२ वटा अपराधिक उपद्रवको मुद्दा दर्ता हुँदा ४७ जना समातिएका छन् ।
यता, झापामा १५ वटा मुद्दामा ४५ जना पक्राउ परेका छन् । त्यहाँ अपराधिक उपद्रवमा ११, ज्यान मार्ने उद्योगमा एक, हातहतियार खरखजानामा दुई, हतियार तथा खरखजानासम्बन्धी कसुर र चोरी तथा डाका कसुरमा एउटा मुद्दा दर्ता भएको छ । सुनसरीमा अपराधिक उपद्रवको एउटा मात्र मुद्दा दर्ता भएको प्रहरीले जानकारी दिएको छ । सो कसुरमा पाँच जना पक्राउ परेका छन् । ईलाममा तीन वटा अपराधिक उपद्रवको मुद्दा दर्ता हुँदा १५ जना समातिएका छन् । मधेश प्रदेशमा १६ वटा मुद्दा परेको छ भने २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषामा अपराधिक उपद्रवका तीन वटा मुद्दा दर्ता भएकोमा आठ जना पक्राउ परेका छन् । बारामा अभद्र व्यवहारमा दुई, ज्यान मार्ने उद्योगमा एक, डाका तथा आगजनीमा एक र अपराधिक उपद्रवमा दुई मुद्दा दायर भएको छ । अभद्र व्यवहारमा ९ जना पक्राउ पर्दा अन्य कसुरमा एक जना पनि समातिएका छैनन् । सप्तरीमा अभद्र व्यवहारमा तीन मुद्दा परेको छ । अपराधिक उपद्रवमा महोत्तरीमा एक, रौतहटमा एक र पर्सामा एक मुद्दा दायर भएको तथ्याङ्क छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनले अपराधिक उपद्रवमा ३९ जनालाई नियन्त्रणमा लिएको छ । त्यसैगरी, चोरीमा दुई, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा ११, लागुऔषधमा एक जनालाई समातिएको छ । जेनजीको घटनामा अपराधिक क्रियाकलापमा संलग्न १२४ अभियुक्त बागमती प्रदेशका विभिन्न जिल्लाबाट पक्राउ परेका छन् । प्रदेशमा ४८ वटा मुद्दा दर्ता भएको थियो ।
जसमध्ये धादिङमा एक, काभ्रेमा ६, मकवानपुरमा पाँच, चितवनमा ३२ र सिन्धुलीमा चार रहेको छ । गण्डकी प्रदेशमा ४४ वटा मुद्दामा १२० जना पक्राउ परेको तथ्याङ्क छ । पर्वतमा कारागार ऐन, २०७९ सम्बन्धी कसुरमा १४ जनालाई समातिएको छ । त्यसैगरी, विद्युतीय कसुर तथा साइबर अपराधमा एक जना पक्राउ परेका छन् ।
म्याग्दीमा कारागार ऐन, २०७९ सम्बन्धी कसुरमा सात, कास्कीमा अपराधिक उपद्रवमा ४६, अभद्र व्यवहारमा आठ, चोरीमा ६ र हातहतियार खरखजानामा तीन जनालाई नियन्त्रणमा लिइएको छ । नवलपरासी पूर्वमा १३ जना पक्राउ पर्दा तनहुँमा समातिनेको संख्या २२ रहेको छ ।
लुम्बिनी प्रदेशमा ४४ वटा मुद्दा दर्ता हुँदा १११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमध्ये बाँकेमा १२, नवलपरासीमा १४, बर्दियामा ९, अर्घाखाँचीमा तीन, रुपन्देहीमा ४१, दाङमा ३२ रहेका छन् । कर्णाली प्रदेशको सुर्खेतमा चोरी र आगलागीको चार वटा मुद्दा दर्ता भएकोमा तीन जना पक्राउ परेका छन् ।
सुदूरपश्चिम प्रदेशअन्तर्गत बझाङको एक नगरपालिकाको मेयर र उपमेयरको कार्यालयमा आगजनी गरेको अभियोगमा सात जना समातिएका छन् । त्यस्तै, कञ्चनपुरमा सात र कैलालीमा १० जना पक्राउ परेको जनाइएको छ ।
टिप्पणीहरू