भारतमा व्यापारी भनेर चिनिएका कांग्रेसको सूचीमा

भारतमा व्यापारी भनेर चिनिएका कांग्रेसको सूचीमा

आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूचीप्रति सर्लाही जिल्ला कार्यालयले आपत्ति जनाएको छ । पार्टी संगठनमा कहिल्यै नामै नसुनेको र भारतमा व्यापार गर्दै आएको व्यक्तिलाई सर्लाहीबाट बन्दसूचीमा राखिएको भन्दै विरोध जनाइएको हो । 

सर्लाही जिल्ला कार्यालयका कार्यवाहक सभापति डा.सरोज कुमारले आज केन्द्रीय कार्यसमितिलाई परिपत्र गर्दै यसबारे ध्यानाकर्षण गराएका छन् । उनका अनुसार बन्दसूचीमा परेका मो.अन्सार खाँ पार्टीको कँही कतै समितिबाट सिफारिस नभएको, पार्टी संगठनमा कहिल्यै नदेखिएको नाम हो । 

‘विगत २०–२५ वर्षदेखि भारतको लुधियानामा व्यापार गरेर बसेको व्यक्ति कसरी कुन मापदण्डअन्तर्गत समानुपातिक सदस्यमा सिफारिस भयो ? यो आश्चर्य र शंकास्पद विषय हो,’ परिपत्रमा भनिएको छ । यसले जिल्लामा बसेर वर्षौदेखि पार्टी संगठन विस्तारमा लागेका कार्यकर्ताको आत्मबल गिरेको र उनीहरुको विद्रोहको भावना जाग्रित भएको कार्यवाहक सभापति कुमारको भनाइ छ । 

‘संगठनमा बसेर किन काम गर्ने भन्ने प्रश्न उठेको छ,’ उनले भनेका छन् । पार्टीप्रति चौतर्फी आक्रमण भइरहेको समयमा यस्ता कार्यले संगठनलाई थप क्षति पुर्याउने भएकाले बन्दसूचीमा पहुँच, पैसा र पावरको भरमा राखिएका नामावली यथाशीघ्र सच्याउन माग गरिएको छ ।

टिप्पणीहरू