पत्रकारको सामाजिक सुरक्षाको निम्ति ठोस कदम चाल्ने प्रधानमन्त्रीको प्रतिवद्धता
सरकारले अपाङ्गता भएका र ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने भएको छ । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोबारे जानकारी दिनुभएको हो ।
श्रमजीवी पत्रकारका समस्या चाहे जसरी सम्बोधन नभइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले उनीहरुको दक्षता अभिवृद्धि गर्न, वृत्ति विकासको अवसर सिर्जना गर्न र स्वास्थ्य उपचारलगायत सामाजिक सुरक्षाको निम्ति ठोस कदम चालिने प्रतिवद्धतासमेत जनाउनुभएको छ । पत्रकारको हकहितका लागि सरकार सधैँ सकारात्मक रहेको जनाउँदै उहाँले आगामी दिनमा पनि सोहीअनुसार अगाडि बढ्ने विश्वास पनि दिलाउनुभयो ।
नेपालको प्रेस जगत सधैँ परिवर्तनको पक्षमा उभिने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कतिपय आन्दोलनमा प्रत्यक्ष सरिक र कतिपय एजेण्डामा ऐक्यबद्धता व्यक्त गर्दै आएको बताउनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना एवं समाजको रुपान्तरण र जनताको अधिकार प्राप्तिका निम्ति नेपाली प्रेस जगतले महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो ।
निरङ्कुश शासनकालमा प्रेसले शासकहरूबाट राजनीतिक दलहरूले जस्तै कठोर दमन र उत्पीडनको सामना गर्नुपरेको स्मरण गर्दै प्रधानमन्त्रीले दमनविरुद्धको प्रतिरोधमा प्रेस जगत खरो सावित हुँदै आएको उल्लेख गर्नुभयो । शान्ति प्रक्रियाको चरणमा पनि प्रेसले सकारात्मक योगदान गरेको उहाँको भनाई छ ।
'आमसञ्चार क्षेत्रको पुनर्संरचनाको निम्ति केही नीतिगत आधार तयार भए पनि कानुन तथा संरचना निर्माण गर्नुपर्ने आवश्यकता छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलगायतका विषयमा सरकार गम्भीर छ र तिनको सम्बोधन गर्न प्रयासरत छ ।'
उहाँले पत्रकारिता क्षेत्रमा उठेका कतिपय विषयहरू आगामी नीति तथा कार्यक्रम र बजेटमार्फत् सम्बोधन गरिने जानकारी दिनुभयो ।
'पत्रकारको दक्षता बृद्धिका लागि प्रशिक्षण प्रतिष्ठानको स्थापना, श्रमजीवी पत्रकार तथा कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने विषय, विज्ञापनको सवाल, बीमाको विषय, मिडिया उद्योगले भोगिरहेको आर्थिक सङ्कटको सम्बोधनजस्ता विषयलाई प्राथमिकतामा राखेर अघि बढाइने छ', प्रधानमन्त्रीले भन्नुभयो ।
टिप्पणीहरू