प्रभु साहका नेता–कार्यकर्तामाथि प्रहरीको लाठी
प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का नेता–कार्यकर्ता पक्राउ परेका छन् । त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गर्न पुगेका सो पार्टीका वरिष्ठ नेता तिलक थापासहित दर्जनौंलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
पक्राउ परेकामा पार्टी प्रवक्ता चन्द्रभूषण साह, भन्सार कानून सुधार संघर्ष समितिकी संयोजक रञ्जुकमारी साहसहित २२ जना छन् । धर्नाको क्रममा प्रहरीले लाठी चार्ज गर्दा पार्टी केन्द्रिय सदस्य चन्दादेवी साह र चन्द्रिका साह गम्भीर घाइते भएको उनीहरुले बताएका छन् ।
भन्सार कानूनमा रहेको ४५ प्रतिशत ‘कथित पुरस्कारको लुटकारी’ प्रावधान हटाउनुपर्ने माग राख्दै आजपा लामो समयदेखि आन्दोलनमा छ । सोही क्रममा सो पार्टीको भ्रातृ संगठन आम सम्पर्क मञ्चले चौथो चरणको आन्दोलनअन्तर्गत आज भन्सार विभाग घेराउ गरेको थियो । त्यसक्रममा आन्दोलनकारी र प्रहरीबीच झडपसमेत भएको हो ।
टिप्पणीहरू