हाकिमले ताकेकै हुन् त अर्काकी पत्नी ?

हाकिमले ताकेकै हुन् त अर्काकी पत्नी ?
सुन्नुहोस्

प्रहरीमा रविको रजाइँमाथि आइजीको साथले फेरि दुई जना एसपी जिल्ला कमाण्ड गर्दागर्दै तानिएका छन् । 

इलामको बहुचर्चित उपनिर्वाचनमा सुरक्षामाथि कुनै प्रश्न नउठ्ने गरी काम गरेका एसपी वासुदेव खतिवडा चुनाव सिध्याएको एक हप्ता बित्नासाथ र सरुवा भएको तीन महिना नपुग्दै त्यहाँबाट तानिएका छन् । त्यस्तै नियति भोगे, सिरहाका एसपी सन्तोष आचार्यले । यसअघि बिनाकारण तराईका विभिन्न जिल्लामा खटिएका एसपीलाई एक महिना नपुग्दै सरुवा गरिँदा आइजी वसन्त कुँवर विभागभित्रै विवाद र आलोचनामा परेका थिए ।

प्रहरी हेडक्वार्टरमा कार्यरत एक एसपी भन्छन्, ‘गृहमन्त्री रवि लामिछाने र उनीनिकटका केही व्यक्तिले रोजेका प्रहरीलाई पोष्टिङ दिनका लागि काम गरिरहेका कमाण्डरलाई समय नपुग्दै तान्ने सिलसिलाको अर्को रूप हो, इलाम र सिरहाको सरुवा ।’ पहिला कारण नखुलाई गरिएको सरुवाले अत्यधिक आलोचना खेपेपछि यसचोटि कारण त देखाइयो तर प्रमाणित नगरी एकोहोरो आरोपमा एसपीहरू तानिएका छन् ।

यसमध्ये इलामका एसपी वासुदेव खतिवडाका हकमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक हवल्दारकी पत्नीसँग अमर्यादित व्यवहार गरेको भन्ने आरोप लगाइएको छ । हेडक्वार्टरका एक जिम्मेवार अधिकृतका अनुसार विभागका हवल्दारलाई ‘एसपीविरुद्ध उजुरी नदिन र उनको भविष्य नबिगारिदिन आग्रह गर्दै त्यसको बदलामा सरुवा गरिदिने’ भनिएको थियो । तर, एसपी खतिवडाले आरोप प्रमाणित भएमा कानुनबमोजिमको सजायँँ भोग्न तयार रहेको बताउँदै आएका थिए । चुनावको समयमा इलाम पुगेका गृहमन्त्री रवि लामिछाने र उनको टोलीका सदस्यले राखेका सबै अपेक्षा पूरा नगरिदिएका कारण वासुदेवलाई तानिएको हेडक्वार्टरका एसपीहरूको भनाइ छ ।

‘चुनावको प्रचार गर्न आएको गृहमन्त्रीसँग २४ घण्टा पछि लाग्ने कुरा भएन, त्यसमाथि गृहमन्त्रीको पार्टीले शर्मनाक मत ल्याउनुमा एसपीलाई दोष दिइयो’, ती एसपीको भनाइ छ । तर, उक्त कारण बताएर एसपीलाई सरुवा गर्न नमिल्नाले नक्कली कारण खडा गरिएको चर्चा हेडक्वार्टरमा चलेको छ । 

उता, सिरहाबाट तानिएका एसपी सन्तोषको हकमा घुमुवा राख्न नपाएपछि बिचौलिया खडा गरेर नाकामा अनियमितता गरिएको आरोप लगाइएको छ । तर, हेडक्वार्टरबाट गएको टोलीले माडरका व्यापारी नरेश साहलाई पक्राउ गरी ती व्यक्ति नै एसपीको बिचौलिया हुन् भन्ने कुरा जबरजस्ती स्थापित गर्दै उनको सरुवा गरिएको छ । सीमावर्ती नाकाहरूमा गृहमन्त्रीको पार्टी रास्वपाका मान्छे सल्बलाउने र उनीहरूको मागबमोजिम प्रहरीले काम गर्न नसक्दा तानिनुपर्ने नियति यसअघि अन्य एसपीले पनि भोगिसकेका छन् । अहिले तानिएका दुबै एसपी जागिरे जीवनमा हालसम्म कुनै विवादमा नपरेका व्यक्ति हुन् । खतिवडा ०५८ र आचार्य ०६१ का इन्स्पेक्टर हुन् ।

उता, गृहमन्त्रीको सचिवालय एक्लैले तयार पारेको सरुवा सूची लागू गर्न दबाब दिइँदा इन्स्पेक्टर सरुवा रोकिएको छ । प्रहरी हेडक्वार्टरले तयार पारेको प्रस्तावित सरुवा सूचीमा गृहमन्त्रीको सचिवालयले ८० प्रतिशत हेरफेर गर्न थालेपछि सरुवा रोकिएको हो । हालै बढुवा भएका एआइजीको पोष्टिङसँगै हेडक्वार्टरका केही विभागको जिम्मेवारी हेरफेर हुनै लागेको छ । त्यस क्रममा सरुवा र काजको मामिला हेर्ने मानव स्रोत विभागमा संगठनको पक्षमा अडान लिन सक्ने एआइजीको पोष्टिङ गरिने र त्यसपछि मात्रै इन्स्पेक्टरको सरुवा निकालिने भएको छ ।

प्रहरीमा १० महिनापछि संगठनको नेतृत्व फेरिन लागेको छ । अहिले पठाइने इन्स्पेक्टर टोलीले १२ महिनासम्म तोकिएको युनिट कमाण्ड गर्छन् । सीमा, राजमार्गसहित अति व्यस्त शहरी भेग तथा संवेदनशील प्रहरी युनिट सम्हाल्नुपर्ने पाँच सयभन्दा बढी कमाण्डरको सरुवामा मन्त्रीको सचिवालयबाट हुने हस्तक्षेप अस्वीकार गर्न अन्य एआइजीले आइजीलाई तीव्र दबाब दिइरहेका छन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू