कार्यादेश टुंग्याउन कार्यदल बैठक जारी

कार्यादेश टुंग्याउन कार्यदल बैठक जारी

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन आज पनि कार्यदलको बैठक बसेको छ । सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बसेको हो । 

सहकारी ठगीमा संलग्न रहेको आरोप लागेका गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने कि नगर्ने भन्ने विवादले टीओआर टुंगो लाग्न नसक्दा समिति गठन हुनसकेको छैन । यसअघि  हिजो बसेको बैठक निष्कर्षविहीन बनेको थियो । 

 प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नेगरी समितिलाई कार्यादेश दिइनुपर्ने अडान राखेको छ । समग्र सहकारीको बचत हिनामिनाबारे छानविन गर्न समिति गठनका लागि तयार भएको सत्तापक्ष भने व्यक्तिको नाम तोकेर जान नसकिने पक्षमा छ । 

कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलमा एमाले प्रमुख सचेतक महेश बर्तौला, काँग्रेस सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।

कार्यदलले सहमति जुटाउन नसक्दा बिहान ११ बजे बस्नेगरी तय भएको प्रनिधिसभाको बैठक शुरु भएको छैन ।

टिप्पणीहरू