कसैले जागिर नपाउने, सैनिकचाहिँ जागिर छाडेर भाग्ने

कसैले जागिर नपाउने, सैनिकचाहिँ जागिर छाडेर भाग्ने

नेपाली सेनाबाट भाग्ने क्रम रोकिएको छैन । हरेक महिना दर्जनौं सैनिकले सुइँकुच्चा ठोकिरहेको अवस्था छ । जागिर नपाएर कोही रन्थनिरहेको बेला कोही बल्लतल्ल खाएको जागिर छोडेर किन भागिरहेका होलान् । वैशाखदेखि हालसम्म दुई दर्जन बढी सैनिक यसरी बेपत्ता भएका छन्। 

सिपाही सुमन थापा वैशाख २९ गतेबाट लापत्ता छन् । चार दिन घरबिदा मागेर निस्किएका उनी कास्कीको पोखरा महानगरपालिका–२७ बस्ने पृथ्वीबहादुर थापाको नाति एवं तर्कबहादुरको छोरा हुन् । जेठ १ गते हाजिर हुनेगरी कार्यालयबाट निस्किएका थिए । 

तर, उनी नआएपछि सुजित बस्नेतले सबै मेजर भेटेमा पक्राउ गर्न प्रहरीलाई गुहारेका छन् । घर बिदामा बसेका सिपाही टिकाराम तामाङ पनि फरार छन् । लमजुङको मस्र्याङ्दी गाउँपालिका ३ का धावा तामाङको नाति एवं सन्तबहादुरको छोरा उनी १३ दिन बिदा मागेर गणबाट निस्किएको जेठ १ गते हाजिर हुनुपर्ने थियो । 

अर्का सिपाही दिलिप कुमाल पनि घरमा समस्या भएको भन्दै वैशाख १० गते बिदामा गएदेखि कार्यालय फर्केका छैनन् । 
गोरखा नगरपालिका–११ बस्ने खड्कबहादुर कुमालको छोरा १८ दिने छुट्टी सकिएपछि बारम्बार फोन गर्दा पनि सम्पर्क हुन सकेको छैन । तालिमको टर्म ब्रेकमा घर गएका सिपाही राज लोनियाको कुनै अत्तोपत्तो छैन । सि.सं.२१ बिल्लादार ग्रेड–३ तालिममा संलग्न उनी वैशाख १८ गतेदेखि बिदामा थिए । 

बाँकेको डुडुवा गाउँपालिका– ६, बल्दिपुर्वा बस्ने ओरिलाल लोनियाको नाति एवं झब्बर लोनियाको छोरा उनले शुरुमा वैशाख २९ गतेसम्म बिदा लिएका थिए । त्यसपश्चात् घरासयी समस्या भन्दै मौखिक रूपमा थप बिदा मागे । जेठ २ सम्मको भाका नाघ्दा पनि उनी बेपत्ता छन् ।

सेनाको लजिष्टिक केन्द्रतर्फ काजमा खटिएका नम्बर २८ बाहिनी अड्डाका सिपाही लक्ष्मी यादवको धुइँधुइँती खोजी भइरहेको छ । पाँच दिन घर बिदामा बसेका उनी वैशाख २१ गतेसम्म फर्किसक्नुपर्ने थियो । बाराको दरांगा राउतको नाति एवं पल्टन अहिरका छोरा उनी तोकिएको समयमा नआएपछि प्रमुख सेनानी मदनजंग कार्कीले आफ्नो जिम्मेवारी क्षेत्रभित्र फेला परेमा खबर गर्न भनेका छन् । 

दिवा बिदामा छाडिएका सिपाही ज्ञानेन्द्रकुमार राउतको पनि कुनै खबर छैन । गोरखनाथ गणमा कार्यरत उनी घरायसी समस्या देखाएर वैशाख २५ गते ब्यारेकबाट निस्किएका थिए । महोत्तरीको मटिहानी नगरपालिका–२, धिरापुर बस्ने उनी र सिपाही प्रविन खत्रीलाई सेनाले छ्याप्छ्याप्ती खोजिरहेको छ । एक महिने बिदामा रहेका उनी जेठ ४ गते फर्कनुपर्ने थियो । सुनसरीको बराहक्षेत्रका उनीसहित सात दिन बिदामा रहेका सिपाही नवीन वली गायव छन् । 

सुर्खेतको गुर्भाकोट नगरपालिका–४ का तुलसेको नाति एवं पुर्भान वलीको छोरा उनी देवीदल गणमा कार्यरत थिए । वैशाख १९ देखि वैशाख २५ गतेसम्म बिदामा रहेका उनलाई उपस्थित गराउन सेनानी विपेन आचार्यले प्रहरी गुहारेका छन् । 

बिना जानकारी भागदौडमा पर्ने अर्का सिपाही हुन्, पवन खड्का । सुर्खेतको भेरीगंगा नगरपालिका ६ निवासी उनी जेठ ४ गते एकदिन घर बिदा मागेर गएकोमा हाजिर नआएको भन्दै प्रहरी गुहारेका छन् । सिपाही महेश थापा भने कोही नभएको मौका छोपेर सुइँकुच्चा ठोकेका छन् । बागलुङका उनी ब्यारेकको तारबार नाघेर भागेका हुन् । अरूण तेस्रो जलविद्युत आयोजना सुरक्षार्थ चिचिला गाउँपालिका ३, केराबारीस्थित सुरक्षा पोष्टमा तैनाथ उनी वैशाख २४ गते दिँउसो ४ बजे फरार भएको बताइन्छ । 

अर्की भगौडा सिपाही हुन्, निरुता गुरुङ । गत वैशाख ३० गते तारबार नाघेर भागेकी उनलाई सेनाले धुइँपताल लगाएर खोजिरहेको छ । ताप्लेजुङको सिदिङवा गाउँपालिका ७ का गहसिंह गुरुङकी नातिनी एवं भगीश्वरकी छोरी उनी अरिदमन गणकी हुन् । 

सोही गणमा कार्यरत अर्का सिपाही सुदिप परियारले पनि कुलेलम ठोकेका छन् । खोटाङ घर भएका उनी रामे दर्जीको नाति एवं सूर्यकुमार दर्जीको छोरा हुन् । वैशाख ३० गते बेलुका कसैले थाहा नपाउनेगरी भागेका उनी दुई साता बितिसक्दा पनि कार्यालय नफर्किएको जनाइएको छ । 

दार्चुला टिंकर (कोठधार–टिंकर) सडक आयोजनाको काजमा खटिएका सिपाही प्रशान्त थापा एक महिना घर बिदा सकेर वैशाख २७ गते हाजिर हुनुपर्ने थियो । तनहुँको मनपाङ गाउँपालिका–१ बस्ने मनबहादुरको नाति एवं नारान थापाको छोरा उनलाई पटकपटक सम्पर्कको प्रयास गर्दा पनि सफल हुन सकेको छैन । सिपाही यादव विश्वकर्मा बेल्टार बसाहा निवासी हुन् । वैशाख ३० गतेदेखि जेठ ८ गतेसम्म बिदामा रहेका उनी नफर्किएपछि सेनानी दिपकबहादुर थापाले समातेर ल्याउन निर्देशन दिएका छन् । 

भैरवीदल गणमा कार्यरत सिपाही विपना खड्का १९ दिने बिदामा थिइन् । वैशाख ३१ गते हाजिर हुनेगरी बिदामा बसेकी उनी सर्लाही निवासी हुन् । नम्बर २४ बाहिनी अड्डा देवलडाँडाबाट सेनामा भर्ती भएका पृथ्वीबहादुर बोहोरा पनि तारबार नाघेर भागेको जनाइएको छ । 

सि.सं.४ सैन्य आधार तालिममा बस्ने उनी जाजरकोटको बोरकोट गाउँपालिका–१, निवासी लालबहादुर बोहोराको छोरा हुन् । गत वैशाख ३० गते भागेका उनको खोजी भइरहेको छ । एकमहिने घर बिदामा छोडिएका प्युठ दीपेन्द्र बस्नेतको पनि कुनै खबर छैन । दैलेखको भगवतीमाई गाउँपालिका १ बस्ने डम्मरबहादुर बस्नेतको नाति एवं डिल्लीबहादुर बस्नेतको छोरा उनी जेठ ९ गते हाजिर हुनुपर्ने थियो । 

यसबीच, अरिदमन गणमा कार्यरत सिपाही तेजेन्द्रसिंह राजवंशी गयल परेको १५ दिनपछि उपस्थित भएका छन् । मोरङ्गको बैजनाथपुर गाउँपालिका–५ बस्ने डोमालाल राजवंशीको नाति एवं पिठुलालको छोरा उनी वैशाख २६ गते हाजिर हुन आएको सेनानी गणेश खत्रीले बताए । 

उनी वैशाख ११ गते ब्यारेकको तारबार नाघेर भागेका थिए । सिपाही रुद्रबहादुर पौडेल पनि फर्केका छन् । उनी गयल परेको १६ दिनपछि आफैँ कार्यालय आएका हुन् । सुर्खेतको लेकवेशी नगरपालिका–५ का उनी श्री टु.मु कोतखानामा ड्युटी से.मु कार्यको लागि काजमा खटिएका थिए । वैशाख ६ देखि ८ गतेसम्म बिदामा रहेका उनी नफर्किएपछि सेनाले खोजी गर्न थालेको थियो । वैशाख २३ गते आफैँ हाजिर भएका हुन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू