कार्यालयमै कठालो

कार्यालयमै कठालो

घटना अघिल्लो सोमबार अपरान्हको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कोठा नम्बर १५ मा स्थानीय तह हेर्ने जिम्मेवारी प्राप्त भीमकान्त पौडेलको कार्यकक्ष छ । यसअघि भगवती न्यौपाने मन्त्री हुँदा उनी उक्त शाखामा भित्रिएका थिए । स्थानीय तहमा गएर काम गर्छु भन्ने कर्मचारीलाई नखटाउने, यसअघि सोही पालिकामा वर्ष दिन बिताएका शाखा अधिकृतलाई दोहोर्‍याएर पठाइएकै कारण सोमबार त्यहाँ लफडा मच्चिएको र किस्पाङ्ग गाउँपालिकाका अध्यक्षले कठालो समात्न पुगेका थिए । 

नुवाकोटको किस्पाङ्ग गाउँपालिकामा खटाइएका छन्, केपी खतिवडा । यसअघि सोही पालिकामा बसेका उनी केपी ओली प्रधानमन्त्री हुँदाको सचिवालयमा थिए । ओली हट्नु केही महिनाअघि त्रिवि अध्यागमनमा पुगे । पूर्व महावाणिज्यदूत नवराज ढकालका भाञ्जा नाता पर्ने उनैलाई दोह्रोर्‍याएर उक्त पालिकामा खटाएपछि लफडा भएको जनाइएको छ । खास त उक्त पालिकामा जान इच्छुक थिए, राज अधिकारी । धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकामा कार्यरत उनलाई लैजान तयार थिए अध्यक्ष वीरबल तामाङ्ग । तर, राजुलाई नुवाकोटकै दुप्चेश्वरतिर ठेलेर किस्पाङ्गमा पुनः केपीलाई खटाइएपछि उपसचिव भीमकान्तमाथि जाइलागेका हुन् वीरवल ।

काठमाडौंबाट नजिकै भए पनि किस्पाङ्ग लामो समयदेखि निमित्तको भरमा चलिरहेको छ । अहिले त्यहाँ स्वास्थ्यका कर्मचारी छन् । प्रमुख अधिकृत अख्तियार लागेर निलम्बनमा परेका कारण प्रमुख प्रशासकीय अधिकृत माग्दै पालिका अध्यक्षले दर्जनौं पटक मन्त्रालय चाहारे, चोटा कोठा भौंतारिएर नमस्कार टक्र्याए तर केही लागेन । सोही आक्रोश अपराह्न तीन बजे प्रकट भइहाल्यो । धन्न शाखा अधिकृत पिताम्बर सारुले छुट्टाएका कारण अप्रिय घटना हुन पाएन । 

उसो त नायब सुब्बा भए पनि दुई दुई वटा सरकारी गाडी चढ्दै आएका एमालेनिकट कर्मचारी संगठनका महासचिव आरसी अधिकारीसमेत स्थानीय तहमा पठाउने कर्मचारीको कोर टिमभित्र पर्छन् ।
 

टिप्पणीहरू