गुप्तचरमा इधर उधर

गुप्तचरमा इधर उधर

जेनजी आन्दोलनमा अत्यन्तै आलोचित नेपालको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागको नेतृत्व फेरिएसँगै अन्य महत्वपूर्ण पदको जिम्मेवारी पनि हेरफेर गरिएको छ । यसै क्रममा भक्तपुरका एसपी टेकराज तिमल्सिना विभागमा रहेको प्रशासनिक शाखामा सरुवा भएका छन् । शाखाको प्रमुख डिआइजी भीम बुढाथोकी मंसिरमा रिटायर्ड हुने भएकाले त्यसको हर्ताकर्ता तिमिल्सिना हुने पक्का छ ।

राष्ट्रिय सुरक्षा परिषद्का एसएसपी राजन उप्रेतीलाई पनि प्रशासनको एसएसपीमा सरुवा गरिएको छ । यसअघि नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत थिए । त्यसैगरी काठमाडौँ जिल्ला प्रशासनका गुप्तचर प्रमुख एसएसपी रिबेन गच्छदारलाई राष्ट्रिय सुरक्षा परिषद्मा लगिएको छ । उनी पूर्व मन्त्री विजयकुमार गच्छदारका आफन्त हुन् । 

राष्ट्रपति रामचन्द्र पौडेलका जिल्लावासी एसएसपी पप्पु शर्मालाई काठमाडौैं जिल्ला प्रशासनमा जनसम्पर्क अधिकारीमा सरुवा गरिएको छ । माओवादी भनेर चिनिइने हेमन्त कार्कीलाई भक्तपुर खटाइएको छ । प्रचण्ड प्रधानमन्त्री भएका बखत कार्की बालुवाटारमा खटिएका थिए । 

दिल्लीमा दूतावासमा रहेकाको सरुवा भने आउँदो माघ महिनामा हुने बताइन्छ । टेकराजलाई बढुवा दिएर त्यता पठाउने सम्भावना भए पनि उत्तम खनाल, इलामका टीका पोखरेल र काभ्रेका दीपक खड्का पनि दावेदारका रूपमा रहेको बताइन्छ । गुप्तचरहरू ऐनमा प्रधानमन्त्री कार्यालय मातहतमा भए पनि जेनजी सरकारले क्याविनेटले गृहमन्त्रालयअन्तर्गत ल्याएर यसलाई कानुनी रूपमा बलियो बनाउन अध्यादेश जारी गर्ने तयारीसमेत भइरहेको स्रोतको दावी छ । 
 

टिप्पणीहरू