दशकपछि विश्वकपमा आज नेपालको भिडन्त

दशकपछि विश्वकपमा आज नेपालको भिडन्त

– लक्ष्मी काफ्ले

टी–२० विश्वकपमा नेपालले पहिलो खेल आज नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति ९ः१५ बजेबाट सुरु हुँदैछ । नेदरल्याण्ड्सलाई पाखा लगाउँदै विश्वकपकपमा नेपाल जीतबाट अघि बढ्न चाहन्छ ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । र, यो समूहमा नेदरल्याण्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश पनि छन् । अर्थात्, नेपालले समूह चरणमा चार खेल खेल्दैछ । पहिलो खेल नेदरल्याण्ड्ससँग, दोस्रो श्रीलंका, तेस्रो दक्षिण अफ्रिका र अन्तिम खेल बंगलादेशसँग ।

यो विश्वकपमा नेपालको लक्ष्य सुपर आठमा पुग्ने हो । नेपालले आफ्नो समूहमा नेदरल्याण्ड्सलाई नै सबैभन्दा कमजोर टोली मानेको छ । किनभने अरु तीनवटा टीम टेस्ट मान्यताका राष्ट्र हुन् । उता नेदरल्याण्ड्सले पनि नेपाललाई नै सबैभन्दा कमजोर टोली मानेको छ । नेपालाई हराएर जीतबाट विश्वकपको सुरुवात गर्ने नेदरल्याण्ड्सको पनि लक्ष्य छ । नेपालले आफ्नो समूहमा रहेका अरु चार टीममध्ये नेदरल्याण्ड्सलाई कमजोर टोली मानेको छ । किनभने नेपालले नेदरल्याण्ड्सलाई केही पटक हराएको पनि छ टी–२० मा । तर, नेदरल्याण्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशले भने नेपाललाई नै कमजोर टोली मानिरहेका छन् ।

 

यस्तो अवस्थामा नेपालले विश्वकपको सुरुवात कसरी गर्ला ? नेपाली क्रिकेट समर्थकहरुमा चिन्ता पनि छ । पहिलो खेल जित्न सके नेपालको मनोबल त पक्का बढ्छ । तुलनात्मक रुपमा हेर्दा नेपालभन्दा नेदरल्याण्ड्स बलियो टोली हो । नेदरल्याण्ड्सले यसअघि पनि ३ वटा टी–२० विश्वकप खेलिसकेको छ । आइसीसी टी–२० वरियतामा पनि नेदरल्याण्ड्स नेपालभन्दा माथि छ । नेदरल्याण्ड्स १५औँ स्थानमा छ । नेपाल १७औँ स्थानमा । 

नेदरल्याड्सले आठ महिनाअघि एकदिवसीय विश्वकप पनि खेलेको थियो । एकदिवसीय विश्वकपमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिका र बंगलादेशलाई सहजै हराइदियो । अहिलेको विश्वकपमा पनि नेदरल्याण्ड्सले बंगलादेश र दक्षिण अफ्रिकासँग खेल्दैछ । यी दुई टोलीलाई पहिले पनि विश्वकपमै पराजित गरिसकेको भएर नेदरल्याण्ड्स अहिले उच्च मनोबलमा छ । नेपाल, बंगलादेश, दक्षिण अफ्रिका र श्रीलंकालाई हराउने नेदरल्याण्ड्सको दाउ हो ।

विश्वकप अघिको वार्मअप म्याचमा नेपाल आफूभन्दा छ स्थान तलको वरीयतामा रहेको क्यानडासँग पराजित भयो । उता नेदरल्याण्ड्सले भने वरीयतामा उभन्दा सात स्थान माथि रहेको श्रीलंकालाई सहजै पराजित गरिदियो । साँच्चै भन्नुपर्दा नेदरल्याण्ड्स योपटक उच्च मनोबलमा छ । नेपालको मनोबल त्यति मजबुत छैन । नेपालको प्रदर्शन पनि तारिफयोग्य भइरहेको छैन । यो कुरा सत्य हो । 

यस्तै बेला नेपालका सर्वाधिक सफल क्रिकेटर सन्दिप लामिछानेले पनि भिसाको समस्याका कारण विश्वकप खेल्न पाएनन् । नेपालका लागि यो ठूलो झड्का हो । अमेरिका र वेस्ट इण्डिजको पिचमा सन्दिपले थुप्रैपटक लीगहरु खेलेका थिए । उनलाई उताको पिचको अवस्था राम्रोसँग थाहा थियो । तर, दूर्भाग्य ! उनी नेपालमै रोकिए । 

हुनत नेपाली टोलीलाई ‘कमब्याक’ गर्न आउँछ । खेलमा ‘युटर्न’ ल्याउन पनि जानेको छ नेपालले । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्लाई जित्न सके बाँकी रणनीति पछि बनाउला । किनभने नेदरल्याण्ड्ससँगको खेलपछि नेपालसँग नौ दिनको पर्याप्त समय छ, दोस्रो खेलका लागि । तर, नेदरल्याण्ड्स निकै बलियो टोली हो । नेदरल्याण्ड्सलाई नेपालले जसरी पनि जित्नै पर्छ । जीतबाटै विश्वकपको यात्रा सुरु गर्नुपर्छ नेपालले । तब मात्र हिम्मत बढ्छ ।

टी–२० का अहिलेसम्मका रेकर्डहरु हेर्दा नेपाल र नेदरल्याण्ड्सले सन् २०१५ देखि एकापसमा भिड्न थालेका थिए । पछिल्ला नौ वर्षमा नेपाल र नेदरल्याण्ड्सले जम्मा १२ वटा मात्र टी–२० खेलेका छन् । जसमा छ वटा नेदरल्याण्ड्सले र पाँच वटा नेपालले जितेको छ । एउटा खेल नतिजाविहीन बनेको इतिहास छ ।

नेदरल्याण्ड्ससँग १२ मा १२ वटै टी–२० खेल्ने नेपालका दुई जना खेलाडी छन् । ती हुन्, करण केसी र सोमपाल कामी । करणले १२ खेलमा नेदरल्याण्ड्सको १६ विकेट चट्काएका छन् । सोमपालले पाँँच विकेट मात्र लिएका छन् । यस्तो अवस्थामा सुरुवाती विकेट निकालेर नेदरल्याण्ड्सलाई दबाबमा राख्ने काम करण केसीकै हुनेछ । पावरप्लेमा करणलाई सोमपालले साथ दिनेछन् ।

नेपालको मुख्य समस्या डेथ ओभरको बलिङमा छ । अन्तिम चार ओभरमा नेपालले कहिल्यै सम्झिनै मन नलाग्नेगरी धुलाई खान्छ । ब्याट्सम्यानतर्फ हेर्ने हो भने कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले नेदरल्याण्ड्सविरुद्ध समान ६/६ वटा टी–२० खेलेका छन् । छ खेलमा कुशल भुर्तेलले २३३ रन बनाएका छन् । जसमा तीन वटा अर्धशतक पनि छ । अर्का ओपनर आशिफ सेखबाट पनि यो खेलमा आश गर्न सकिन्छ । किनभने तीन वर्षअघि आशिफ र भुर्तेल दुबैले एकैदिन डेब्यु गरेका थिए । डेब्यु नेदरल्याड्सविरुद्ध नै गरेका थिए । र, डेब्यु खेलमै आशिफ र भुर्तेल दुबैले अर्धसतक बनाएका थिए । नेदरल्याण्ड्सविरुद्ध यी दुबै ओपनरको रेकर्ड राम्रो छ ।

नेदरल्याण्ड्सविरुद्ध अहिलेसम्म छ वटा टी–२० खेलेका दीपेन्द्रसिंह ऐरीले १८४ रन बनाएका छन् । नेदरल्याण्ड्ससँग नेपालले सबैभन्दा बढी आशा कुशल भुर्तेलसँग राखेको छ । भुर्तेल १० ओभरसम्म क्रिजमा टिक्ने हो भने बाँकीका १० ओभर रोहित पौडेल, कुशल मल्ल गुल्सन झा, दिपेन्द्रसिंह ऐरी लगायतले सम्हाल्नेछन् ।

विश्वकपमा नेदरल्याण्ड्ससँग नेपालले उच्च मनोबलका साथ खेल्न जरुरी छ । किनभने नेदरल्याण्ड्ससँग नेपालले अस्ति फेब्रुवरी र मार्चमा कीर्तिपुरमा तीन वटा टी–२० खेलिसकेको छ । उताका खेलाडीलाई राम्ररी चिनेको छ नेपाली टोलीले । नेदरल्याण्ड्सको बलिङ र ब्याटिङ, बलियो पक्ष र कमजोर पक्ष नेपाललाई राम्रोसँग थाहा छ ।

नेदरल्याण्ड्सले भने अहिले टी–२० विश्वकपकै लागि भनेर ग्यारी किस्टनलाई कन्सलट्यान्टका रुपमा भित्र्याएको छ । २०११ मा भारतले एकदिवसीय विश्वकप जित्दा भारतीय क्रिकेटको प्रशिक्षक यिनै क्यारी किस्नट थिए । भारतलाई एकदिवसीय वल्र्डकप जिताउने प्रशिक्षकलाई अहिले नेदरल्याण्ड्सले कन्सलट्यान्ट राखेको छ ।

नेपालको पनि तयारी भरपूर भइरहेको छ । नेपालले पनि बलिङ कन्सलट्यान्ट राखेको छ । मुख्य प्रशिक्षक मोन्टी देसाईको मेहनत हामी देखिरहेकै छौँ । नेपालले विश्वकपकै लागि भनेर पछिल्लो पाँच महिनादेखि निरन्तर अभ्यास गर्दैछ । २०२४ लागेयता ४० वटाभन्दा बढी टी–२० खेलिसकेको छ, नेपालले । विश्वकपमा नेपाललाई विश्वसामू चिनाउने मौका छ । यो मौका १० वर्षपछि आएको छ ।

टिप्पणीहरू