भाँडभैलो गर्ने उहाँहरू, ढुंगामुढा मेरो घरमा ?

भाँडभैलो गर्ने उहाँहरू, ढुंगामुढा मेरो घरमा ?

न्युरोडमा जन्मिए, हुर्किएका चिनकाजी व्यवसायी वा जागिरे भएनन् । पञ्चायती व्यवस्था बदल्ने आन्दोलनमा होमिए । ०४५ सालमा नेकपा मालेबाट राजनीति थालेका उनी मनमोहन अधिकारी नेतृत्वको माक्र्सवादीसँग माले एकीकृत भएसँगै एमाले बने । कलेज पढ्दै गर्दा कामाडौंको जनप्रतिनिधि निर्वाचित भए । पिएल सिंह मेयर हुँदाका कान्छो सदस्य उनले विद्यासुन्दर शाक्य मेयर हुँदा २२ नम्बर वडाको अध्यक्ष चलाए । दुई वर्षदेखि फेरि वडाध्यक्ष रहेका उनी पार्टी जिल्ला कमिटी सदस्य, क्षेत्रीय कमिटी सचिव हुँदै हालै मेयर बालेन साहसँग जुधेका कारण थप चर्चामा छन् ।

‑ हरि गजुरेल

० काठमाडौंभित्रका ३२ वडा अध्यक्ष र १६२ जनप्रतिनिधिमध्ये अरु कसैको टाउको नदुख्ने तर तपाईंले मात्र मेयर बालेनसँग सिंगौरी खेल्नुपर्ने किन ? 

– बाध्यता । यहाँका जनता अन्याय सहन सक्दैनन् । राजा वीरेन्द्रको पालादेखि नै चित्त नबुझेका कुरामा जुध्ने स्थानीय छन् यहाँ । विकास भन्दै दमन गर्न खोजेपछि हामी विरोधमा उत्रनुपरेको हो ।

० मेयरले एमाले र कांग्रेसका जनप्रतिनिधि जुधाएरै लाभ लिइरहेका छन् भन्ने लाग्दैन ? 

– राजनीतिमा सबैभन्दा बढी चल्ने साम, दाम, दण्ड, भेद हो । यसरी खेल्दा सफल भइन्छ भन्ने लाग्दो होला । दलका साथीहरूले मिल्दा के हुन्छ, झगडा गर्दा के हुन्छ भन्ने आफैं बुझ्नुपर्छ ।

० काठमाडौंमा एमालेकै ६१ जना जनप्रतिनिधिबीचमै मतैक्य छैन । उपमेयर सुनिता डंगोलसँग पनि त्यस्तै हो र ? 

– उपमेयरसँग पनि समन्वय हुन्छ । बिनाहोहल्ला बिनावादविवाद बालेनजीलाई २ वर्षसम्म सहयोग गर्दै आएकै हौं । उहाँले हात हाल्नुभएका कतिपय विषयमा कानुनी विवाद भयो, मुद्दा अदालतसम्म पुग्यो, स्टे अर्डर आयो । जस–अपजसको जिम्मा हामीले लिनैपर्छ । तर, हाम्रा आवाज मिडियामा कम मात्र जान्छ । अहिलेका मेयर बढी मिडियाप्रेमी छन्, त्यही कारण होला काष्ठमण्डपमा हजार लाइक आउँछ, रानीपोखरीहरू विद्यासुन्दर शाक्यको पालामा पुनर्निर्माण भएको पोष्टमा एक हजार लाइक छैनन्, बालेनले जे लेखे पनि लाखौं लाइक आउँछ ।

लोकप्रियताका सबै कुरा प्राकृतिक होइनन् । त्यस्ता कुरासँग हामी आत्तिनु हुँदैन । फल्चा बनाउँदा २ लाख, काष्टमण्डप बनाउँदा १ हजार मात्र लाइक आएकै आधारमा हाम्रो लोकप्रियता खस्कियो भन्न मिल्दैन । सोसल मिडियाको एक खालको प्रभावलाई स्विकार्नुपर्छ । चुनावमा जित्दैमा, लोकप्रिय हुँदैमा सबथोक राम्रो हुन्छ भन्ने छैन । अभिताभ बच्चनले उत्तर प्रदेशका मुख्यमन्त्री हेमवती नन्दन बहुगुणाजस्ता ख्यातिप्राप्त नेतालाई हराए तर ती चीरकालसम्म उही रूपमा रहेनन् । लोकप्रिय हुनु र असल हुनु, असल हुनु र सफल हुनु फरक–फरक कुरा हुन् । 

० तपाईंहरूले आइतबार नगरसभा नै बहिष्कार गर्नुभयो । मेयरसँग के मा हो चित्त दुखाइ ? 

– नीति तथा कार्यक्रम नगर प्रमुख र बजेट उपप्रमुखको जिम्मेवारीमा पर्छ । ३२ गते कार्यपालिकाको बैठक बस्दा नीति तथा कार्यक्रम प्रस्तुत भयो । त्यही दिन नगरपरिषद्को बैठक दुई घण्टाको फरकमा राखियो । नीति तथा कार्यक्रमबारे आफ्नो दलमा छलफल ग¥यौं । एमालेको तर्फबाट १८ वटा बुँदामा संशोधन प्रस्ताव लाने भन्ने भयो । एकीकृत समाजवादीको संशोधन प्रस्ताव थियो । हामी सबैले पुनर्लेखन गरौं भन्यौं । १५ नम्बरका वडा अध्यक्ष ईश्वर मानन्धर, नवराज पराजुली र नवीन मानन्धरसमेत भएर एकमुष्ठ संशोधन प्रस्ताव बनायौं । १६२ जनाको अलग–अलग बनाउनुभन्दा साझा रूपमा लैजाने तयारी चल्दैथियो । प्रमुखले हतारपूर्वक बैठक सञ्चालन गर्नुभयो ।

प्रवक्ताले थोरै समय चाहिन्छ भन्दा पेलेरै जान खोज्नुभयो । नगरपरिषद् सदस्यहरूले विरोध गर्नुभयो । संस्थाको हितकै लागि छलफल गर्दैछौँ । साझा धारणा बनाएर संशोधन प्रस्ताव ल्याउँदै छौं, आधा घण्टा समय दिनुहोस् भन्दा मलाई हतार छ भन्नुभयो । समय दिन मान्नुभएन । असार १० गते नगरसभा बैठक बस्ने भनेर हिँड्ने उहाँ, लगत्तै बाहिर झोलेहरूले हामीबाट पो उल्टै बैठक बहिष्कार भनेर फुकिदिए । संविधानले नै विचार, दर्शनका आधारमा एकजुट र संगठित हुन पाउने हक दिएको छ । प्रमुखज्यूको गतिविधि अराजक र गैरराजनीतिक छ ।  उहाँको स्वतन्त्रताप्रति हामी सम्मान गर्दछौं । कुनै पनि व्यक्ति गैरराजनीतिक हुन पाउँछ, संगठित हुन पनि मिल्छ, जसरी हामी एमाले हुन पाउँछौं ।

तर, एमाले÷कांग्रेस भएकै कारण कसैमाथि पक्षपात र दुव्र्यवहार गर्न पाइदैन । यही व्यवस्था ल्याउनका लागि हामी लड्यौं । संघर्ष गरेर यहाँसम्म आइपुग्यौं । एमाले–कांग्रेसले लडेर ल्याएको यही व्यवस्था प्रयोग गरेर उहाँ चुनाव लडी मेयर हुने अनि यही व्यवस्था ल्याउने दललाई गाली गर्ने ? यस्तो कार्य नदोहोर्‍याउन सचेत गराउन चाहन्छौं । दुई वर्षमा १६२ जनाबीच कुनै विषयमा मतमतान्तर भएन । सर्वसम्मत धेरै कुरामा निर्विरोध उहाँलाई समर्थन गर्दै आयौं । तर, अहिले उहाँको दलप्रतिको असहिष्णु व्यवहारका कारण समस्या बढ्दो छ । 

० जस बालेन एक्लैले लिने, अपसजसका भारी एमाले वा कांग्रेसका जनप्रतिनिधिले बोक्नुपर्ने अवस्था कस्तो लाग्दै छ ? 

– हामी एकै परिवारका सदस्य हौं । जवाफदेहिता सबैमा हुनुपर्छ । कस्ता–कस्ता राजा–महाराजाले यो शहरमा शासन गरे । शहर फेरियो, शहरको नाम फेरियो । अहिले बालेन सिटी भन्दा अनर्थ लाग्छ ।

० १८ जेठको कार्यपालिका बैठकमा तपाईंसँग मेयरको अलि बढी नै नोंकझोक चल्यो । कारण के थियो ? 

– काठमाडौं महानगरपालिकाले पुसतिर अपारदर्शी ढंगले न्युरोडको पेटी बनाउने ठेक्का दिएको रहेछ । पहिले–पहिले सम्बन्धित वडामा कुनै काम हुन्छ भने छलफल हुन्थ्यो तर यसचोटि आफ्नो क्याबिनमा बसेर टेण्डर, ठेक्का प्रक्रिया अगाडि बढाउनुभयो । जुन कुरा हामीले मिडियामार्फत थाहा पायौं । मेरो घरको कुरा मैले मिडियाबाट थाहा पाउनुपर्ने ? उहाँजस्तै म पनि निर्वाचित जनप्रतिनिधि । सबै काम मेयरले गर्ने हो भने वडाध्यक्ष र सदस्यको चुनाव किन गरिरहनुपर्‍यो ? टेबहाल, वटु, सुन्धारा वा सम्बन्धित भूगोलमा के गर्ने के नगर्ने ? भन्ने विषय त्यहाँका जनप्रतिनिधिसँग सल्लाह गरेर अगाडि बढ्नुपर्ने होइन ? नगर प्रहरी पठाएर पेल्न–खेल्न खोज्ने ? विकास, निर्माण फौज राखेर गर्ने विषय हो र ? जनपक्षीय, लोकप्रिय काम गरे त जनताले नै स्वागत र श्रमदान गर्छन् नि, हैन र ! 

० तपाईंले पार्किङ ठेक्कापट्टा लगाएर खान नपाएका कारण चर्काे विरोध गरेको हो भन्नेहरू पनि छन् । वास्तविकता के हो ? 

– विद्यासुन्दरको पालामा पार्किङ निःशुल्क गर्नुपर्छ भन्दा उहाँसँग मेरो सम्बन्ध बिग्रियो । आज पार्किङको ठेक्का दिने मेयर, उपमेयर र साक्षी बस्ने वडाध्यक्ष ! आरोपचाहिँ मलाई ? ठेक्कापट्टाको शिलान्यास हुँदा बहिष्कार गर्ने म । मेरै घरमा ढुंगामुढा भएको छ । हिजो मोटरसाइकल र गाडीको शुल्कमा लुट भयो, आधा घण्टा निःशुल्क गर्नुपर्छ भन्ने म । कतिपय ठाउँमा मेरै कारण शुल्क हटाइएको छ तर आज पार्किङको पैसा खान नपाएर विरोध गर्दैछ भनी आरोप लगाइँदै छ । गोयबल्स शैलीमा सय पटक गलत कुरा दोहोर्‍याएर सही हुन्छ भन्ने जमाना आएको छ ।

० तपाईं २२ नम्बर वडाको अध्यक्ष तर सडकपेटीकै विषयमा न्युरोड (२४ नम्बर) को कार्यक्षेत्रभित्र किन प्रवेश गर्नुपरेको ? 

– न्युरोडको पेटी बढाउने २२, २३, २४ वडाको एकमुष्ट टेण्डर थियो । मकहाँ पनि पुग्ने भएको हुँदा हामीले विरोध गरेका हौं । चिनकाजी र यहाँका स्थानीयबासीले २४ नम्बरमा ढुंगा छाप्दा, पिच गर्दा वा मन्दिर बनाउँदा अर्थात् विकास निर्माणको कुनचाहिँ काममा अवरोध गर्न गएको छ ? फेरि न्युरोड भनेको २४ नम्बर वडा मात्र होइन, त्यहाँ हुने कामले सार्वजनिक रूपमा प्रभाव पार्ने हुँदा २२ वडाका जनताले सरोकार राखेका हौं । 

० विकसित मुलुक इटाली, फ्रान्सतिर हेर्ने हो भने सडकयात्रीलाई पहिलो प्राथमिकता दिइन्छ । न्युरोडमा पनि यो कुरा के नराम्रो थियो र ? तपाईंहरूले विरोध गर्नुपरेको ? 

– चिनकाजी यही खाल्डोमा टाँसिएर बसेको, देश–विदेश नदेखेको, अनपढजस्तो टिप्पणी गर्छन् । हाम्रो यहाँको सामाजिक, आर्थिक वस्तुस्थिति पनि ख्याल गर्नुपर्छ । विदेशमा नो भेकल जोनका अगाडि थुप्रै बाटो छन् । त्यहाँ ग्यास, पानी पाइपलाइनबाट आउँछ । सबै कुरा व्यवस्थित छ । त्यहाँ हिँड्नु सोखको विषय हो । न्युरोडका जनताले अहिलेसम्म ट्यांकरकै पानी खाइरहेका छन् । ग्यास मान्छेले बोकेर ल्याउनुपर्छ । एम्बुलेन्स, दमकल पुग्ने बाटो छैन । भूगोलले मागेपछि न राज्यले त्यसअनुसार कार्यक्रम ल्याएको हो ! मेयरले प्रस्तुत गरेको तथ्यांक नै गलत छ ।

३८ हजार यता बढी, विशालबजारतिर ४४ हजार बढी । हाम्रो तथ्यांकशास्त्री र उहाँको तथ्यांकशास्त्री राखेर शास्त्रार्थ गर्ने दिन पनि आउँछ होला नि ! गलत तथ्यांक दिएर उहाँले सडकपेटी बढाउन खोज्नुभएको छ । बिनाअध्ययन, बिनातयारी काम गर्नुभएको छ । संघ सरकारले समेत आफ्नो विकास निर्माणका लागि वडासँग समन्वय गर्छ भने मेयरले चाहिँ २२ नम्बर वडामा हात हाल्दा छलफल गर्नु नपर्ने ? त्यो मेयरको मात्र कार्यक्रम हो ? यहाँका करदाताप्रति राजश्व तिर्नेहरू जवाफदेही हुनुनपर्ने ? असल पक्ष र खराब पक्षको विषयमा छलफल वा सार्वजनिक सुनुवाइ गरेर काम गरौं भनेको नमान्दा र सडक विभागसँग समन्वय नहुँदा कानुनी लडाइँ शुरु भएको न हो ।   

० वसन्तपुरमा बालेन जाँदा वाहवाही हुने, राष्ट्रपति, प्रधानमन्त्री जाँदा हुटिङ गरिन्छ किन ?

– यसमा पनि छानबिनको विषय होला । सतही र नांगो आँखाले देखेको कुरा सबै सही नहुन सक्छ ।

० चाहे न्युरोडको ठेक्का प्रकरण होस् वा क्षेत्रपाटीमा स्वास्थ्यको ठेक्का– यी सेटिङमा मेयरकै सचिवालय जोडिन्छन् भन्छन् । त्यस्तै हो र ? । 

– यो विषयमा उपचार गर्ने अख्तियार, अदालत छ । वडा अध्यक्षले मात्रै सबै बोल्नुपर्ने विषय होइन । समाजलाई हेर्ने र नियाल्ने अन्य निकायलाई पनि बोल्ने मौका दिनुपर्छ ।

० कहिले सिंहदरबारमा आगो लगाइदिन्छु भन्ने, कहिले फोहोर लगेर मन्त्रालयमा खन्याइदिने हाकिमका यी र यस्ता अभिव्यक्तिलाई कसरी लिनुहुन्छ ? 

– महानगरको जन्म नै सरसफाइ अड्डाबाट भएको थियो । त्यही महानगरको प्रमुखले सिंहदरबारभित्र लगेर फोहोर खन्याउँछु भन्नु उच्चतम संस्कारकै कुरा त होला नि !

० तपाईंले सडकपेटीको जति विरोध गर्नुभयो, खास कारणचाहिँ गिरिबन्धु टी इस्टेट प्रकरणमा एमाले जोडिएको र त्यसको फेहरिस्त नै बालेन साहले सार्वजनिक गरिदिएका कारण पार्टीले मोहरा बनाएको हो भन्दैछन् नि ? 

– मलाई यो विषयमा बोल्न, प्रतिवाद गर्न कुनै नेताले फोन, सम्पर्क गरेको छैन । न्युरोडमा अहिले पेटी बढाउनु हुँदैन भन्ने जनताको आवाज छ । त्यही कुरा बोलेको हो, कसैको आदेश लिएको पनि छैन । गिरिबन्धु टी इस्टेटसँग सम्बन्ध राख्ने कुरा पनि होइन यो । बालेन्द्र साह मेरो अभिभावक हो । उहाँलाई यस्ता भ्रामक शब्द फिर्ता लिन आग्रह गर्दछु ।

० ६ वटा महानगरपालिकामध्ये काठमाडौंको पुँजग्ीत खर्च निराशाजनक देखिन्छ । समस्या खरिद नियमावलीको मात्र हो कि आँलाकाँचा टिमको पनि ? 

– सार्वजनिक खरिद नियमावली पनि यसमा बाधक छ । विद्यासुन्दर शाक्य मेयर हुँदा अनुभवकै कारण पुँजीगत खर्च ६४ प्रतिशतभन्दा बढी भएको थियो । यो वर्ष २४ प्रतिशत मात्र खर्च भएको सुनिन्छ । खर्चप्रति लगाव नभएको होला । हिजो भए, गरेका कतिपय कुरा मुद्दा चलेपछि करेक्सनको कोर्समा भएर पनि होला । 

० पिएल सिंह, विद्यासुन्दर हुँदै अहिले बालेनसँग काम गर्दै हुनुहुन्छ । कति फरक पाउनुभयो ? 

– पिएल सिंह परिपक्व थिए । म सबैभन्दा कान्छो जनप्रतिनिधि । महानगर बन्दै थियो । भूगोलहरू टुंग्याउने, प्राकृतिक स्रोतको व्यवस्थापन, नगरलाई महानगर बनाउने, देश–विदेशमा महानगरलाई चिनाउने काम त्यही समयमा भयो । विद्यासुन्दरको भूकम्पपछि धेरै महत्वपूर्ण सम्पदा पुनर्निर्माण गर्ने, सांस्कृतिक सम्पदामा लगाव थियो । बाटोघाटो बनाउने, पिच गर्ने, सामाजिक रूपमा तालिम प्रशिक्षणतिर धेरै लगानी भएको छ । बालेन्द्रलाई दलको दबाब, प्रभावमा काम गर्नु नपर्ने छुट छ । सल्लाह दिने मान्छेको कमी छ । थुप्रै काम अदालतले उल्टाइदिएको छ । सरसल्लाह, समन्वय, प्रणालीबाट काम हुनुपर्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू