मुख्यमन्त्री सोडारीलाई मार्गप्रशस्त गर्न आग्रह

मुख्यमन्त्री सोडारीलाई मार्गप्रशस्त गर्न आग्रह

सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै दुवै दलले मुख्यमन्त्री सोडारीलाई पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक वर्ष २०८१/०८२ को प्रदेशको बजेट किन आएन ? अथवा किन अरु जायज विकल्पहरु खोजिएन ? यसको जवाफ त सरकारले दिनु नै पर्ला तर आर्थिक डेडलकको अवस्थामा आइपुग्दा अल्पमतमा रहेको कामचलाउ सरकार र मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट राजीनामा दिएर मार्गप्रशस्त्र गर्न नेपाली काँग्रेस र नेकपा (एमाले) कैलाली आग्रह गर्दछ ।’

प्रदेशसभामा प्रस्तुत गरेको बजेट समेत अलपत्र पारेको भन्दै बजेटमाथि छलफल गर्नमा जानाजान ढिलासुस्ती गरिनुका साथै अन्य वैधानिक विकल्पहरुको खोजीसमेत नगरी प्रदेशलाई बजेट शून्यताको अवस्थामा पुर्याएको समेत उनीहरुले बताएका छन् । 

बजेट निर्माण प्रक्रिया शुरु भएदेखि नै बिचौलियाको सक्रियताप्रति आशंका उत्पन्न भइरहेको सन्दर्भमा बजेट तथा कार्यक्रम पुस्तिका (रातो किताब) जस्तो अति महत्वपूर्ण र संवेदनशील दस्तावेज समेत अनधिकृत रुपमा सार्वजनिक हुनुले बजेटप्रति झन् सन्देह र निराशा पैदा भएको पनि विज्ञप्तिमा जनाइएको छ । 

बजेटको रातो किताब अनधिकृत रुपमा बाहिरिएको घटनाको गम्भीरतापूर्वक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग भइरहेका बेला वर्तमान प्रदेश सरकारले गठबन्धनका दलहरुबीच भागबण्डा पुर्याउन मन्त्रालयको संख्या थप गरी अनावश्यक व्ययभार थप्ने काम गरेको दुवै दलको ठहर छ । 

‘प्रदेश सरकारबाट एकपछि अर्को गर्दै गलत निर्णय र गतिविधि जारी रहेको बेला प्रदेशमा वित्तिय प्रणाली नै ध्वस्त हुने गरी बजेटविहीनताको अवस्था सिर्जना गरेर सरकारले आफ्नो अकर्मण्यता र नालायकीपनको प्रदर्शन गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।  

प्रदेशमा बजेट शून्यताको कारण सिंगो अर्थतन्त्रमाथि नै गम्भीर असर परेको र राजस्व संकलन र खर्च कार्य ठप्प भएको भन्दै यो गम्भीर परिस्थितिमा संवेदनशील भई प्रदेशको गरिमा बढाउन सहमति, सहकार्य र एकताका साथ अघि बढ्न समेत आग्रह गरिएको छ ।

टिप्पणीहरू