हत्या गरिएका वृद्ध राप्रपा नेता रोपाइँका लागि पुगेका थिए गाउँ

हत्या गरिएका वृद्ध राप्रपा नेता रोपाइँका लागि पुगेका थिए गाउँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वमन्त्री रामचन्द्र रायको हत्यामा संलग्नमाथि कडा कारबाहीको माग गरेको छ । पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले घटनाको सत्यतथ्य छानबिन गरी संलग्नमाथि कारबाही गर्न माग गरेका हुन् । 

राप्रपाका संस्थापक नेता एवम् सर्लाहीका पुराना राजनीतिज्ञ ८० वर्षीय रायको गएराति चन्द्रनगर गाउँपालिका–१, रतनपुरस्थित आफ्नै निवासमा हत्या भएको हो । उनको टाउकोको बायाँपट्टी भागमा उखु काट्न प्रयोग हुने धारिलो हतियार प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

‘रायको निधनबाट राप्रपाले आफ्नो संस्थापक सदस्य र तराई मधेश क्षेत्रको एक जना लोकप्रिय राष्ट्रवादी नेता गुमाएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘घटनाको राप्रपा घोर भत्र्सना गर्दछ । साथै, सत्यतथ्य जाँचबुझ गर्न, घटनामा संलग्नको खोजी गर्न र कडा कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।’

राय तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा भूमिसुधार राज्यमन्त्री बनेका थिए । सपरिवार काठमाडौं बस्दै आएका उनी एक साताअघि धान रोपाइँका लागि रतनपुर पुगेका थिए । उनको हत्या आशंकामा प्रहरीले घरमा काम गर्न बसेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
 

टिप्पणीहरू