उपसभामुखको ‘विवादित पत्र’ लाई नौ लाख काण्डले थप पेचिलो बनाउँदै

उपसभामुखको ‘विवादित पत्र’ लाई नौ लाख काण्डले थप पेचिलो बनाउँदै
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री मुकुल ढकालले अमेरिकी भीसा मिलाइदिने नाममा उपसभामुख इन्दिरा रानाले नौ लाख लिएको दाबी गरेका छन् । उनले उपसभामुख र पीडितबीच आर्थिक लेनदेन भएको बैंक स्टेटमेन्ट आफूसँग सुरक्षित रहेको बताएका हुन् । 

उपसभामुखले एक वर्षअघि नौ लाख लिएको कुरा गत वैशाख ४ गते एक पालिका सभापतिमार्फत् पार्टीको केन्द्रीय कमिटीमा जानकारी आएको उनको भनाइ छ । ‘नौ लाख रूपैयाँ उपसभामुख सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछी पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन’, उनले भनेका छन्, ‘बैंक स्टेटमेन्ट अझै पनि सुरक्षित छ ।’ 

 
उनले महामन्त्रीको हैसियतमा उपसभामुख रानालाई तत्काल पीडित पाँच जनालाई पार्टी कार्यालयमा यथाशीघ्र उपस्थित गराउन निर्देशन दिएको पनि बताएका छन् । तर रानाले भने ‘मैले चिनेको छैन, थाहा छैन’ भनेर रटान लगाएको उनको दाबी छ ।
‘थाहा छैन भन्न पाइन्छ ? भनेर मैले प्रश्न गरिरहेँ, तर उहाँले थाहा छैनको रटान लगाइरहनुभयो’, मुकुलको भनाइ छ । अस्ति पार्टी सभापति रवि लामिछानेले उपसभामुख रानाको प्रकरणमा आर्थिक लेनदेन गरेकोे कुनै प्रमाण नभेटिएको बताएका थिए । रानाले विभिन्न प्रतिष्ठित अवार्ड पाएको र एक वचनमै करोडको डोनेसन आउने भएकाले केही लाखको लागि अपराध गरिरहनुपर्ने आवश्यता नरहेको लामिछानेको आशय थियो । 

तर मुकुलले भने कसैले अवार्ड पाउँदैमा उसले अपराध नगर्ने भाष्य गलत भएको बताए । उनले उपसभामुख रानालाई विगतको प्रतिष्ठाको खातिर राजीनामा दिएर नैतिकता देखाउन पनि सुझाव दिएका छन् । ‘त्यो पदले गर्नसक्ने भनेको नेपालीको इज्जत, प्रतिष्ठा र मर्यादालाई उँचो बनाउनु हो, जुन राजीनामा दिएर गर्न सकिन्छ, नकी पदमा बसेर’, उनको सुझाव छ ।

टिप्पणीहरू