जनार्दन शर्माले खुशी हुँदै भने- अध्यक्ष कमरेड प्रचण्डलाई धन्यवाद
शान्ति सम्झौता भएको झण्डै १८ वर्षपछि संक्रमणकालिन न्यायसँग सम्बन्धित टिआरसी विधेयकमा दलीय सहमति जुटेसँगै नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले खुशी व्यक्त गरेका छन् ।
प्रमुख दलहरुबीच कुरा नमिल्दा लामो समयदेखि संसदमा अड्किएको टिआरसी विधेयकमा सहमति खोज्ने प्रमुख तीन दलले तीन सदस्यीय कार्यदल गठन गरेका थिए । गृहमन्त्री रमेश लेखक,एमाले सांसद महेश बर्तौला र शर्मा सदस्य रहेको कार्यदलको आज बसेको बैठकले समझदारी जुटाएसंगै उनी उत्साहित भएका हुन् ।
नेपालको शान्ति सम्झौताको मौलिकता र विशेषताले सार्थकता पाएको बताउँदै शर्माले विश्वव्यापीरुपमा स्थापित हुने विश्वाससमेत गरेका छन् । द्वन्द्व पीडितहरुलाई न्याय, परिपूरण र मेलमिलापलगायतको सम्बन्धमा महत्वपूर्ण सहमति जुटेको उनले जानकारी गराएका छन् ।
‘विधेयक संशोधन गर्न सहमति हुन नसकेका सबै विषयहरु टुंगोमा पुर्याउन, समिति लागि सहजीकरण गर्न सफल भएका छौं’, उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘यसबाट नेपालको शान्ति प्रक्रियाको बाँकि कार्यभार छिटो पूरा भइ नेपाली शान्ति प्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी स्थापित हुने विश्वास व्यक्त गर्दछु।’
कार्यदलमा राखेर जिम्मेवारी र अवसर दिएको भन्दै शर्माले अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई धन्यवादसमेत दिएका छन् । ‘यसक्रममा सल्लाह सुझाव दिएर वा प्रश्न गरेर सहयोग गर्ने सम्पूर्ण महानुभावसहित यो अवसर प्रदान गर्ने अध्यक्ष क. प्रचण्डलाई धन्यवाद’, उनले भनेका छन् ।
टिप्पणीहरू