शान्ति प्रक्रिया तत्काल टुंग्याउन शीर्ष नेताहरु तयार

शान्ति प्रक्रिया तत्काल टुंग्याउन शीर्ष नेताहरु तयार

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) संसदको चालू अधिवेशनबाट पारित गर्न शीर्ष नेताहरुले प्रतिबद्धता जनाएका छन् ।

विधेयकका सम्बन्धमा सहमति जुटाउन गठित कार्यदलको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल विधेयक पास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनसके विश्वका लागि नै अनुकरणीय हुने काँग्रेस सभापति देउवाको विश्वास छ । त्यसो हुँदा नेपालबाट राम्रो सन्देश जाने र विश्वले अनुकरण गर्ने उहाँले बताउनुभयो ।

‘साथीहरुले धेरै महेनत गरेर नेपाललाई एउटा युनिक किसिमको आफैँले नै नेपालको शान्ति प्रक्रिया टुंग्याउनका लागि यो मेहनत गर्नुभयो । सबै धन्यवादका पात्र हुनुहुन्छ’, देउवाले भन्नुभयो, ‘नेपालले यसलाई राम्रोसँग कार्यान्वयन गरेको र टुंग्याएको खण्डमा संसरमा नै यो अनुकरणीय हुनेछ । र यसले नेपालको अझ पूर्ण रुपमा सम्पन्न भए नेपाललाई अनुकरणीय रुपमा लिनेछन् ।’

आज सिंहदरबारमा प्रतिवेदन बुझेपछि माओवादी अध्यक्ष प्रचण्डले पनि कार्यदलको सहमतिप्रति खुशी व्यक्त गर्नुभयो । लामो समयदेखि छलफलमा रहेको र सहमतिको नजिक पुगेर पनि निश्कर्षमा पुर्याउन कठिन विषय अहिले टुंगिनु सुखद कुरा भन्दै उहाँले पीडितमैत्री बनाउँदै सहमति जुटाउनु अर्को राम्रो पक्ष भएको बताउनुभयो ।

‘कार्यादलले एउटा समझदारीका साथ प्रतिवेदन बुझाएको छ । म कार्यदललाई विशेष रुपले धन्यवाद भन्न चाहन्छु । यो राजनीतिक नेतृत्वका लागि मात्रै होइन, शान्ति स्थिरताको पक्षमा रहेका नागरिकको लागि खुशीको कुरा हो’, उहाँले भन्नुभयो, ‘नयाँ सरकार गठन भएपछिको यसलाई एउटा राम्रो काम भन्ने ठान्छु र सरकारलाई पनि धन्यवाद भन्न चाहन्छु ।’

अध्यक्ष प्रचण्डले संसद्को चालु अधिवेशनबाट विधेयक पास गर्नुपर्नेमा जोड दिनुभएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले टिआरसी विधेयकमा सहमति जुट्नुलाई राजनीतिको कोशेढुंगा भन्नुभएको छ । उहाँले चालु अधिवेशनबाटै शान्ति प्रक्रियासँग सम्बन्धित विधेयक पारित गर्ने प्रतिवद्धता जनाउनुभयो । 

प्रधानमन्त्रीले अब कानूनको हिसाबले शान्ति प्रक्रियाको अन्तिम किस्ताका रुपमा रहेको बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन र सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी कार्यलाई अन्तिम रुप दिन कुनै अन्योल नरहेको बताउनुभयो । संसदीय समितिले सर्वसम्मतिले पारित गरेर पठाउने विश्वास व्यक्त गर्दै ओलीले शान्ति प्रक्रिया टुंग्याउन प्रतीक्षा गर्नुपर्ने कुनै कारण नरहेको स्पष्ट पार्नुभयो ।

‘आज एउटा कोशेढुंगाको रुपमा हामीले सफलता प्राप्त गरेका छौँ । अब हामीलाई कानूनको हिसावले शान्ति प्रक्रियाको अन्तिम किस्ता बेपत्ता पारिएका व्यक्तिहरुको छानविन र सत्य निरुपण तथा मेलमिलाप सम्बन्धित कामलाई अन्तिम रुप दिन कानूनी कुनै अन्योल, द्विविधा छैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ’अब यसलाई संसदको समितिले मैले विश्वास लिएको छु सर्वसम्मतिले पारित गरेर पठाउँछ । र पूर्ण हाउसले पनि यसै सदनमा हामी पास गर्छौं । यसमा प्रतीक्षा गर्नुपर्ने कुनै कारण छैन । चालु अधिवेशनमा हामी पास गर्छौं ।’

शान्ति प्रक्रियाको अवशेष बाँकी रहनु उचित नभएकाले टुंग्याइएको उहाँको भनाई छ । उहाँले शान्ति सबैको चाहना भएकाले सत्य निरुपण तथा मेलमिलापको प्रक्रियालाई विश्व समुदायले स्वीकार गर्नेगरी टुंग्याइने बताउनुभयो ।
 

टिप्पणीहरू