'पार्टी फुटाउँदै छ' भनेर बालुवाटारबाट हल्ला चलाइएको जनार्दनको दाबी

'पार्टी फुटाउँदै छ' भनेर बालुवाटारबाट हल्ला चलाइएको जनार्दनको दाबी
सुन्नुहोस्

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टीमा गुटबन्दी चलाएको आरोप लगाएका छन् ।

मूल नेतृत्वले नै 'फलानाले पार्टी फुटाउँदै छ' भन्ने हल्ला फैलाएको दाबी गर्दै उनले यसलाई अध्यक्षले चलाएको गुटबन्दी भनेका हुन् । जारी स्थायी कमिटी बैठकमा १४ पृष्ठको फरक सांगठनिक प्रस्ताव अघि सार्दै शर्माले फरक मत राखेकै कारण आफूमाथि त्यस्तो आरोप लागेको दाबी गरे । 

फरक प्रस्तावको 'पार्टी फुटबारे चलाइएको हल्ला सम्बन्धमा' शीर्षकमा उनले लेखेका छन्, 'खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर शुरु गरिएको प्रचारवाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइयो । उक्त प्रचारवाजीलाई मद्दत पुग्नेगरी पोखरामा आइपुग्दा मूल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरुलाई पार्टी फुट्ने पक्कापक्की भन्ने लाग्यो ।'

त्यसपछि देशभर असर देखा पर्न थालेको जनाउँदै शर्माले आम कार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको बताएका छन् । स-साना अन्तरविरोध समाधान गर्न झन् ठूलो अन्तरविरोध सृजना गरिदिनुपर्छ भन्ने अध्यक्ष प्रचण्डको मान्यताले यसमा काम गरेको शर्माको दाबी छ ।

विभिन्न समयमा आफूले लिएको अडान र प्रश्नकै कारण यस्तो हल्ला चलाइएको जिकिर गरेका उनले भनेका छन्  'ति प्रश्नको उत्तर दिने झन्झटतिर लाग्नुभन्दा आम पंतिलाई तरंगित पार्ने विषय हालिदिएर ध्यान अन्यत्र मोड्ने उद्धेश्य रहेको छ ।' शर्माले १२ बुँदामा त्यसको ब्याख्यासमेत गरेका छन् ।


टिप्पणीहरू