नयाँ दिल्ली सम्मेलनमा सहभागी उद्योगमत्री कोलकातामा

नयाँ दिल्ली सम्मेलनमा सहभागी उद्योगमत्री कोलकातामा
सुन्नुहोस्

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कोलकत्ता बन्दरगाहको अवलोकन गर्नुभएको छ । सो क्रममा बन्दरगाहका अध्यक्ष रथेन्द्र रमनलगायत उच्च अधिकारीहरुसँग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत न्यूनीकरबारे छलफल भएको बताइएको छ ।

मन्त्री भण्डारीले भुपरिवेष्ठित मुलुकले प्राप्त गर्ने व्यापार सौविध्यता, पारवहन व्यापार सवलीकरण, ‘ट्रान्ससिपमेण्ट मोडालिटी’, भण्डारण जाँचपासलगायत विषयमा जानकारी लिनुभएको छ । चीनबाट हल्दिया र कोलकातामा सिधा कार्गोे जहाजको व्यवस्था गरिएकाले सिंगापुरमा गरिने ट्रान्ससिपमेण्टलागत कम हुने गरेको जानकारी गराइएको छ ।

उहाँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) व्यापार सम्मेलनमा सहभागी हुन मंगलबार नयाँ दिल्ली जानुभएको थियो । शुक्रबार स्वदेश फर्कने कार्यक्रम लम्ब्याएर मन्त्री भण्डारी कोलकाता पुग्नुभएको हो ।

बिम्स्टेकका सरकार प्रमुखहरुको शिखर सम्मेलन आगामी भदौमा बैंककमा हुँदैछ । नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड यसका सदस्य राष्ट्र हुन् ।
 

टिप्पणीहरू