टिआरसी विधेयक सदनमा पेश नहुँदै सर्वोच्चमा मुद्दा
संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टिआरसी) आज संसदमा पेश हुँदैछ ।
गत साता राजनीतिक कार्यदलले विधेयकमा संशोधन गर्नुपर्ने विवादित विषयहरूमा ठोस सहमति जुटाएर प्रमुख दलका शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाएको थियो । संसदको कानुन,न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले आज विधेयक प्रतिनिधि सभामा पेश गर्ने कार्यसूची छ ।
०७९ फागुन २५ मा प्रतिनिधिसभामा दर्ता भएर झण्डै १७ महिनादेखि अलपत्र परेको विधेयकमा संशोधन सहजीकरणको लागि अघिल्लो सरकारले तीन सदस्यीय कार्यदल बनाएको थियो । जसमा, नेपाली कांग्रेसबाट गृहमन्त्रीसमेत रहेका रमेश लेखक,एमालेबाट महेश बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा सदस्य थिए ।
‘निवेदन आएको छ, तर निवेदनसँग चाहिने कागजातहरु केही अपुग देखिएपछि दर्ताको लागि होल्डमा राखेका छौं ।
प्रतिनिधि सभामा पेश गर्ने तयारी चलिरहँदा उता सर्वोच्च अदालतमा भने विधेयकविरुद्ध रिट परेको छ । विधेयक संशोधनको नाममा पीडकलाई उन्मुक्ति दिने र पीडितलाई झन् पीडित बनाउने तरिकाले अघि बढाइएको भन्दै श्यामकृष्ण मास्केसहितका अधिवक्ताहरुले रिट दायर गरेका हुन् । विधेयक सँशोधनमा उल्लेख भएका कतिपय बुँदाहरु नेपालको संविधान र अन्तर्राष्ट्रिय सन्धि सम्झौताविपरित भएको रिटकर्ताको दावी छ ।
यद्यपि,केही आवश्यक कागजातहरु नपुगेको कारण निवेदन दर्ता नगरेर होल्डमा राखिएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । ‘निवेदन आएको छ, तर निवेदनसँग चाहिने कागजातहरु केही अपुग देखिएपछि दर्ताको लागि होल्डमा राखेका छौं ’, उनले जनआस्थासँग भने, ‘उहाँहरु कागजात जम्मा गर्दै हुनुहुन्छ, त्यो आयो भने दर्ता गर्छौँ ।’
टिप्पणीहरू