रास्वपाले भ्रष्टाचारमा हदम्याद नमान्ने, टिआरसीको पक्षमा बोल्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने कुरा सह्य नहुने बताएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको सो पार्टीको बैठकले उक्त भ्रष्टाचार निवारणसम्बन्धी कानुनमा त्यस्तो धारणा बनाएको हो । भ्रष्टाचारसम्बन्धी कानून संशोधनका क्रममा केही राजनीतिक दलले हदम्याद राख्ने कुरा ल्याएको जनाउँदै प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टीलाई त्यो स्वीकार्य नहुने बताए ।
भ्रष्टाचार गरेको आशंका भए जहिले पनि मुद्दा चलाउनुपर्ने र निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउने बाटोमा जानेगरी राजनीतिक दलहरुले गम्भीर त्रुटी गरिरहेको उनले दाबी गरे । संसदमा पनि यसबारेमा आफ्ना धाराण राख्ने परियारले बताए ।
'भ्रष्टाचारसम्बन्धी कानून जुन बनिरहेको छ, त्यमसा हदम्याद राख्नेकुरा कदाचित स्वीकार्य छैन । भ्रष्टाचारको आशंका भए जुनसुकै बेला मुद्दा चल्नुपर्छ', उनले भने, 'निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउनेबाटोमा राजनीतिक दलहरुले गम्भीर त्रुटी गर्दैछन्, त्यो रास्वपाले स्वीकार गर्दैन । त्यसलाई बेजोडका साथ सदनमा उठाउछौँ ।’
बैठकमा रास्वपाका तर्फबाट जलनसम्बन्धी गैरसरकारी विधेयक संसदमा आजै दर्ता गर्ने छलफल भएको पनि परियारले जानकारी दिए । 'मूलत: हामीले तीन वटा विषयमा छलफल चलाएका छौँ । एउटा राष्ट्रिय स्वतन्त्र पार्टीले जलन सम्बन्धी गैरसरकारी एउटा विधेयकको तयारी गरेको छ', भने, 'त्यो विधेयकका अन्तिम छलफल आज चलिरहेको छ । जलनसम्बन्धी विधेयक अन्तिम छलफल हुँदैछ र सम्भवतः आज नै दर्ता गर्नेछौँ हामी ।'
संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सर्वसहमतिले प्रतिनिधि सभामा प्रस्तुत गर्नेगरी समितिबाट पास भएकोप्रति रास्वपाले समर्थन जनाएको छ । यसबारे संसदमा नेताहरुले बोल्दा समर्थनमा धारणा राख्ने बैठकको निर्णय छ ।
त्यस्तै, नेपाल विद्युत प्राधिकरणको वक्यौता सम्बन्धी मुद्दा पनि संसदमा जोडतोडका साथ उठाउने सो पार्टीले तयारी गरेको छ ।
टिप्पणीहरू