विरोधपछि राज्यमन्त्री हटाइए, निर्णयबारे आलम बेखबर
भागबण्डा मिलाउन जम्बो मन्त्रिपरिषद् गठन गरेका मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह राज्यमन्त्री हटाउने निर्णयमा पुगेका छन् ।
२० सदस्यीय क्याविनेट गठन गरेका उनले चौतर्फी विवादपछि आठ जना राज्यमन्त्री हटाउने निर्णय गरेका हुन् । हालै नियुक्त भएका आठ राज्यमन्त्री बर्खास्त गर्न प्रदेश प्रमुखलाई पत्र पठाएको मुख्यमन्त्री सिंहले जानकारी दिए ।
हटाइएका राज्यमन्त्रीहरुमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेका छन् । १२ मन्त्रालय रहेको मधेशमा गत साउन २२ गते मुख्यमन्त्री सिंहले आठ राज्यमन्त्री नियुक्त गर्दै २० सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । जसको सर्वत्र विरोध भएको हो ।
अनावश्यक रुपमा मन्त्री बनाएर राज्यलाई आर्थिक भार थुपारेको भन्दै विभिन्न संगठनले जनकपुरमा विरोध प्रदेशन गरेका थिए । उनको दल जनमत पार्टीले स्पष्टीकरण पनि सोधेको थियो ।
प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री मोहम्मद जैद आलमले आफूहरुलाई हटाउन लागिएकोबारे कुनै जानकारी नभएको बताए । ‘राज्यमन्त्री हटाउने निर्णयबारे मलाई कुनै जानकारी छैन् । मैले पनि मिडियाबाटै थाहा पाएको हुँ’,उनले भने ।
टिप्पणीहरू