गिरीबन्धुको जग्गा फिर्ता ल्याउन कांग्रेस महामन्त्रीको माग
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गिरीबन्धु टि-स्टेटको नाममा भएका जग्गा तुरुन्त फिर्ता ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अदालत र विभिन्न समितिले दिएको निर्देशनलाई अक्षरंश पालना गर्दै जग्गा फर्काउन सरकारलाई आग्रह गरेका हुन् । जनतामा निराशा पैदा भइरहेको बेला सरकारले राम्रो काम गर्छ भन्ने ग्यारेन्टी दिन सक्नुपर्ने थापाको धारणा छ ।
‘गिरीबन्धुकाे सवालमा अदालतले स्पष्ट निर्देशन दिएको छ, जुन सरकार आए पनि यो गनैपर्छ’ उनले भने, ‘हदबन्दीभन्दा बढी जग्गा देखिएको हुनाले गिरीबन्धु टि-स्टेटको नाममा जुन जग्गा छ, त्यसलाई सरकारको नाममा फिर्ता ल्याउ, कुरा स्पष्ट छ त ।’
हदबन्दीभन्दा छुट जग्गाको दुरुपयोग रोक्न भूमि सुधार ऐन २०२१ को दफा १२ ले सहजीकरण गरेको पनि उनले सरकारलाई स्मरण गराए । ‘देशभरी दुरुपयोग भएका जग्गाहरु पनि फिर्ता ल्याउन भूमि सुधार ऐन २०२१ को दफा १२ मा एउटा व्यवस्था छ अनुगमन समिति बनाउने । यो सरकारले तुरुन्त समिति बनाओस्, अनि तुरुन्त जग्गाहरु फिर्ता ल्याओस्, अदालतले पनि यही भन्छ’, थापाले थपे ।
उनले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम पनि तत्काल उठाएर जनतालाई राम्रो कामको प्रत्याभुति दिलाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । साथै, कुनै पनि सरकारले अघिल्लो सरकारको निर्णयलाई बेवास्ता गर्न नपाइने उनको भनाई छ ।
‘कुनै पनि सरकारले अघिल्लो सरकारको निर्णयबाट अलग भएर निंर्णय गर्न पाउँछ ? पाउदैन’, सांसद थापाले भने, ‘लाल आयोगको प्रतिवेदलाई टेक्नैपर्छ । अदालतको निर्देशनलाई टेक्नैपर्छ । संसदीय समितिको निर्णयलाई टेक्नैपर्छ ।’
उनले बिजुली प्रयोग गरेर महशुल तिर्न आनाकानी गर्नेहरुसँग एक सुक्को पैसा पनि नछाड्न सरकारको ध्यानाकर्षण गराए । भने, ‘बिजुली प्रयोग गरेपछि बक्यौता रकम नउठाउन कसैले भन्छ ? नउठाउन पाइन्छ ? अहँ एक रुपैया पनि छोड्न पाइन्न । अरबको कुरा हैन यहाँ, एक सुक्का पनि छोड्न पाइन्न ।’
संसदमा २५ मिनेट आफ्ना भनाई राखेका थापाले भविष्यमा बन्ने सरकारमा समानुपातिक समावेशी प्रतिनिधित्वको आकार बढ्नेगरी कानुन बनाउनुपर्नेमा जोड दिए । ‘हामी यतिसम्म कि गर्छौ कि गठबन्धनको सरकार भयो भने प्रधानमन्त्री र राष्ट्रपति पुरुष बनाइदिन्छौ, कतै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमै पुरुष बनाइदिन्छौ’, उनले सुनाए, ‘यत्रो जम्बो संसदको आकार घटाउ, तर समानुपालिक आकार बढाउने गरी छलफल गरौ र अघि बढौँ ।’
अहिले बनेको कांग्रेस-एमालेका गठबन्धन सरकारमा आफ्नो हात नरेहेको पनि सांसद थापाले स्पष्ट पारे । ‘म यो सरकार बनाउने काममा त्यती लागेको मान्छे होइन म । तर आज जे भएको छ, त्यो चाही ठिक भएको छ भन्ने चाही हुँ’, उनले खुलाए ।
टिप्पणीहरू